एकीकरणपूर्वको एमाले जिल्ला कमिटी समाजवादीमा समाहित


राम धामी, डडेलधुरा ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (एकीकृत माओवादी) एकीकरण हुनु पूर्वको नेकपा (एमाले) डडेलधुरा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।

नेकपा (एमाले) डडेलधुराको आठौँ जिल्ला अधिवेशनमा अध्यक्षमा निर्वाचित डा. तारा जोशीसहित जिल्ला कमिटीका दुई तिहाइ बहुमत सदस्यहरूले निर्णय गरेर नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका हुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधवार डडेलधुरा सदरमुकाम पुगेर समाहित भएका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभएको  छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (एकीकृत माओवादी) बिच पार्टी एकता घोषणा गरिएको २०७२ जेठ ३ गतेसम्म नेकपा (एमाले) डडेलधुरामा ५१ सदस्यीय जिल्ला कमिटी थियो । ५१ सदस्यीय जिल्ला कमिटीका सबै पदाधिकारीसहित ४० जनाले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको तत्कालीन जिल्ला कमिटी सचिव धनबहादुर साँउदले बताउनुभयो । उहाँका अनुसार जिल्ला कमिटीमा रहेका दुई जनाको देहान्त भइसकेको र केही सदस्यहरू विदेशमा रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका नेताहरुका अनुसार डडेलधुरामा रहेका १६ वटा जनवर्गीय संगठन मध्ये १३ जनवर्गीय संगठनले पनि निर्णय गरेरै एकीकृत समाजवादीमा समाहित भएका छन् । तत्कालीन अवस्थामा नेकपा (एमाले) डडेलधुरामा रहेका कुल दुई हजार नौ सय ८० संगठित सदस्य मध्ये दुई हजार दुई सय ३४ जना संगठित सदस्यले विद्रोह गरेर (एकीकृत समाजवादी) मा समाहित भएको नेकपा (एकीकृत समाजवादी)का डडेलधुरा इन्चार्ज नरबहादुर विष्टले जानकारी दिनुभयो । यसअघि १० बुँदे सहमति कार्यान्वयन भएमा एमालेमै रहने निर्णय गर्नुभएका डा। जोशी लगायतका जिल्ला स्तरीय नेताहरुले गाउँ र पालिका स्तरीय अधिवेशनमा कुनै जानकारी नदिएर एकपक्षीय ढंगले नेकपा (एमाले) को हालको जिल्ला कमिटीले पेलेर जान थालेपछि एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेका हुन ।

हेलिकोप्टर मार्फत डडेलधुरा आई पुगेका एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले नेकपा (एस) ले केपी ओली गुटलाई अगामी निर्वाचनका बेला बढार्ने चेतावनी दिनुभयो । उहाँले नेकपा (एस) भएको ठाउँमा ओली गुट ‘नो’ हुने जिकिर गर्दै केपी ओलीको अधिनायकवादी चरित्रका कारण एमालेबाट विद्रोह गरेर मुलुकमा नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले डडेलधुरा जिल्लामा विमानस्थल निर्माणका लागि सर्वेको काम भइसकेको र अब वातावरणीय प्रभाव मुल्याकंन गरेर निर्माण कार्य अघि बढने जिकिर गर्नुभयो । उहाँले नेकपा (एमाले) छोडेर समाजवादी यात्रामा सहभागी हुन सबैलाई आग्रह गर्दै अगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै रहने र केपी ओली नेतृत्वको एमाले पत्ता साप हुने दाबी गर्नुभयो ।

एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचविरुद्ध एकीकृत समाजमावादीमा समाहित भएको डा.तारा जोशीले बताउनुभयो । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टिम समाजवादीमा क्रियाशील भएर संगठन सुदृढ बनाउन लाग्ने जानकारी दिनुभयो । डा. जोशीले २६ वर्षको उमेरमै ०५४ सालमा पहिलो पटक एमालेको जिल्ला नेतृत्व सम्हाल्नु भएको थियो । पछिल्ला सातौं र आठौँ जिल्ला अधिवेशनमा डा. जोशी नै एमाले डडेलधुराको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

२०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा एमाले भित्रको अन्तर घातका कारण डा. जोशी तीन सय ५६ मतान्तरले नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसँग पराजित हुनु भएको थियो । कार्यकर्तामाझ लोकप्रिय छवि बनाउनु भएका डा.जोशी आफ्नो समूहसहित एकीकृत समाजवादीमा समाहित भएसँगै डडेलधुराका विभिन्न स्थानीय तहमा एमालेबाट निर्वाचित केही जनप्रतिनिधीहरुले समेत एमाले छाडेका छन् । एमाले छोडेर एकीकृत समाजवादीमा समाहित भएका जनप्रतिनिधीहरुको भने नाम सार्वजनिक गरिएको छैन ।