मृतक ताम्रकार परिवारलाई ७ लाख ४५ हजार रुपैयाँ प्रदान


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर– १२ चक्रबहिलमा श्री ग्यास पड्किएर मृत्यू भएका परिवारलाई सहायता स्वरुप ७ लाख ४५ हजार रुपैयाँ बुधबार प्रदान गरिएको छ ।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको उपस्थितिमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्रदान गर्नुभएको हो । पशुपतिको आर्यघाटस्थित किरियापुत्री भवनको– १९ नम्बर कोठामा पुगेर मन्त्री भुसालले अनार ताम्रकारलाई सो रकम प्रदान गर्नुभएको हो । सो रकम जिल्ला विपद् व्यवस्थापन समिति अन्तर्गत रहेको कोषको हो ।

गत शुक्रबार साँझ करिब ६: ३० बजे घरको तेस्रो तल्लासो आगलागी भई सो दुर्घटना भएको थियो।दुर्घटनाबाट निरोजका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्रकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्रकारको घटनास्थलमै मृत्यू भएको थियो भने बहिनी सिर्जना ताम्रकारको दुवै खुट्टा र ढाँड भाँच्चिएको थियो।घरको तेस्रो र चोथो तल्ला पूर्ण रुपमा क्षति भएको थियो। सो अवसरमा मन्त्री भुसालले मृतक परिवारका बालबालिकालाई पढाउन छात्रवृति दिलाउन महानगरपालिका समक्ष सिफारिश गर्ने पनि बताउनुभयो ।

सोही अवसरमा दक्षिणकाली गण सातदोबाटोको सशस्त्र बलको तर्फबाट ३० हजार ५ सय रुपैयाँसहित चामल छ बोरा, कम्मल ३ थान, स्लिपिङग बाय्ग २ वटा र ब्लाङकेट ५ वटा बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुंगानाले हस्तान्तरण गर्नुभयो ।पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा नबहाल ग्यास बिस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, संघसंस्थालाई यथा सहयोगको लागि सार्वजनिक रुपमा आहवान गर्दै आएको छ । त्यसैगरी ताम्रकार समाजले १ लाख रुपैयाँ राखेर राहत कोष खडा गरेको छ ।

यसैबीच स्थानीयबासीले पीडित परिवारलाई २० लाख रुपैयाँ सहायता स्वरुप प्रदान गर्न ललितपुर महानगरपालिका समक्ष माग गर्दै आएको स्थानीयबासी राजु ताम्रकारले जानकारी दिनुभयो।‘ धनजनको यत्रो क्षति भएको छ। घर दुई तल्ला पुरै क्षतिग्रस्त छ।यसले गर्दा संघ, प्रदेश वा स्थानीय तहले पीडितलाई राहत दिन कञ्जुस्याई गर्नुहुन्न।घरनजिकको सरकार भनिने चिनिने स्थानीय तहको अझ बढी दायित्व रहन्छ ।’ ताम्रकारले भन्नुभयो ।