गायक योगेश्वर अमात्यको जग्गामा नक्कली धनी,जग्गा ऋणमा राखेर करोडौं ऋण प्रवाह



कृष्णउदास खनाल, वीरगन्ज ।

पप गायक योगेश्वर अमात्यको बारा जिल्लामा रहेको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बाराको बिश्रामपुरमा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको पर्सा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो मा अनुसन्धानका लागि जाहेरी दिनुभएको थियो ।

त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मूल्यांकनकर्ता बैंककै कर्मचारी राजेश्वर चौरसिया पनि छन्। ठाकुर, महर्जन र गौतम केही दिनअघि नै पक्राउ परेका थिए भने चौरसिया मंगलबार पक्राउ परेका थिए।कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

त्यसरी नक्कली कागजात बनाएर ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरिएको पाइएको छ। केन्द्रीय बैंकले अनुमति दिएका आधारमा कुमारी न्यूरोड शाखाबाट रकम निकालिएको थियो। ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार पक्राउ परेकालाई अहिले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान थालिएको छ। नक्कली कागजात बनाएर गौतम र महर्जनले सुरूमा पर्सा शाखामा निवेदन दिएको थिए। पर्सा शाखाका कर्मचारी ठाकुर र चौरसिया नक्कली कागजातबाट १९ करोड रुपैयाँ ऋण स्वीकृतिका लागि गौतम र महर्जनलाई सहयोग गरेका थिए।

पर्सा शाखाले न्यूरोड शाखामा फाइल पठाएको थियो। न्यूरोड शाखाले ऋण दिँदा नक्सालस्थित केन्द्रीय बैंकको स्वीकृति पनि लिएको देखिएको महतोले बताउनुभयो । यो प्रकरणमा कुमारी बैंक पर्सा शाखा, न्यूरोड शाखा र केन्द्रीय कार्यालय नक्सालका कर्मचारीको के कति मिलेमतो र संलग्नता छ भन्ने विषयमा अनुसन्धान जारी रहेको महतोले बताउनुभयो । पक्राउ परेका चारै जना, कुमारी बैंकको पर्सा शाखा, न्यूरोड शाखा र कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालका कर्मचारी छानबिनमा छन्।प्रहरीले नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधानलाई समेत पक्राउ गरेको ब्यूरोका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिनुभयो । प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् ।

उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । अनुसंधान अधिकृतका अनुसार अमात्यको जग्गा भने सुक्षित छ । बैंकबाट लिइएको जग्गा बरावरको रकम फिर्ता गराएका कारण अमात्यको जग्गा भने स्वतन्त्र भएको छ । आफ्नो जग्गा हराएको थाहा पाएपछि आफूले उजुरी दिएको र त्यसैका आधारमा प्रहरीले अनुसंधान गरिरहेका कारण यो बिषयमा थप कुरा आफूले गर्न अवश्यक नरहेको गायक अमात्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्