निर्वाचन समितिले भन्यो: कांग्रेस अधिवेशनको अब रोकिदैन

रौतहटको पनि क्रियाशिल विवाद मिल्यो, २७ गते देखि वडा अधिवेशन


रामकृष्ण चापागाईं, काठमाडौं ।

पटक–पटक कार्यतालिका हेरफेर गरि पछिल्लो पटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यातालिका बनाएको कांग्रेसको केन्द्रिय निर्वाचन समितिले सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरीक विवादका कारण अवरुद्ध भए पछि निर्वाचन समितिले कार्तिक २७ देखि पुनः प्रक्रिया अघि बढाएको छ ।

महाधिवेशनको प्रक्रिया नै शुरु नभएको १४ जिल्ला सिन्धुपाल्चोक, डोल्पा, बाके, कैलाली, सुर्खेत, सप्तरी,सिराह, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रसुवा र रौतहटमा २७ गते देखि वडा अधिवेशन हुदैछ । यस अघि रसुवा र रौतहटको क्रियाशिल विवाद कायमै रहेकोले अझै अन्यौल थियो । पछिल्लो समय रसुवाको विवाद टुङ्गाएको काग्रेसले रौतहटको विवाद पनि टुङ्गाएको छ । निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार वुधवार रौतहट जिल्लाको पनि क्रियाशिल सुची सार्वजनीक भएको छ । ‘दुई जिल्लाको विवाद थियो त्यो पनि टुङ्गियो’ संयोजक यादव भन्नुहुन्छ– अव कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अघि बढ्छ, सबै तयारी पुरा भैसकेको छ ।

हाल सम्म काग्रेसको ४६ जिल्लामा पालिका सम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्म सम्पन्न भएको छ । कार्यातालिका अनुसार २७ गते देखि अधिवेशन प्रक्रिया शुरु गर्न लागिएको जिल्लामा पालिका अधिवेशन कार्तिक ३० गते गरिदै छ भने प्रदेश सभा अधिवेशन मंसिर ३ र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते गरिदै छ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन भने मंसिर १० गते हुदैछ ।

निर्वाचन समितिले जनाए अनुसार सोलुखुम्बु दार्चुला र म्याग्दी तीन जिल्लामा प्रदेशसभा क्षेत्रिय अधिवेशन मंसिर २७ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १ गते गरिदै छ । यस अघि रोकिएको जुम्लाको जिल्ला अधिवेशन पनि मंसिर १ गते हुदैछ । पालिका अधिवेशन सम्पन्न भैसकेको ४६ जिल्लामा भने प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर ३ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते र जिल्ला अधिवेशन १० गते हुदैछ । प्रदेश अधिवेशन भने मंसिर १६ र १७ गते हुने कार्यतालिका छ ।

केन्द्रिय निर्वाचन समितिका संयोजक यादवका अनुसार अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन जिल्ला निर्वाचन अधिकृत खाटाइएको छ । महाधिवेशनको तयारी बारे छलफल गर्न काग्रेस केन्द्रिय समिति बैठक पनि यहि कार्तिक २८ गते आईतवार बस्दैछ । कांग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरु तयार पार्न संयोजकहरु तोक्ने बताइएको छ ।