- विजय शर्मा
नागरिकहरूलाई ताजा सूचना सम्प्रेषण गर्ने भरपर्दो माध्यम आमसञ्चार नै हो । यसले विश्वभरि छरिएर रहेका मानिसका लागि सन्देशहरू संकलन, सम्पादन र प्रसारण गर्दछ । छापा र विद्युतीय दुवै माध्यमबाट प्रवाह हुने ती सन्देश आजभोलि सूचना तथा सञ्चार प्रविधिको प्रयोगले विश्वका कुनाकुनाका खबरहरू तत्कालै थाहा पाउन सकिने हुनाले सूचना सम्प्रेषणका दृष्टिमा आज संसार एक ग्लोबल भिलेजका रूपमा परिणत भएको छ ।
आमसञ्चारले प्रकाशन तथा प्रसारण गरेका समाचार र विचारहरू पुस्तकालयले अभिलेखीकरण गर्ने गर्दछन् । छरिएर रहेका सूचनाहरूको संकलन, व्यवस्थापन, सम्प्रेषण तथा संरक्षण गर्नु पुस्तकालयको मुख्य कार्य हो । पुस्तकालयले सम्पूर्ण प्रयोगकर्ताहरूका लागि आवश्यक पर्ने स्रोत सामग्री वर्षौंदेखि सुरक्षित रहेका हुन्छन् । सूचनाका सामग्रीहरू आवश्यक परेमा पुस्तकालयसँगकै निकटताबाट प्राप्त गर्न सकिन्छ । अझ आश्चर्यको कुरा के छ भने, आफ्नै सिर्जना आफैँसँग नभएर पुस्तकालयमा खोज्न आउने सर्जक तथा सूचना उत्पादक संस्थासमेत धेरै भेटिने गरेका छन् । आफ्ना सिर्जना सुरक्षितसाथ पुस्तकालयले राखेको पाएपछि पुस्तकालयप्रति कृतज्ञ हुने गरेको पनि पाइन्छ । त्यसैले विश्वभरि नै पुस्तकालयलाई ज्ञानको भरपर्दो स्थायी अभिलेख भण्डारका रूपमा लिइन्छ ।
आमसञ्चार र पुस्तकालय दुवै सेवामुखी संस्था हुन् । कसैप्रति पूर्वाग्रही नभई सेवा प्रदान गर्नु नै यी दुवै संस्थाको पेसागत धर्म हो । आमसञ्चारमा काम गर्नेलाई पत्रकारको नामले सम्बोधन गरिन्छ भने पुस्तकालयमा काम गर्नेलाई पुस्तकालयकर्मी (लाइब्रेरियन) भनिन्छ । दुवै पेसामा इमानदारिता, निष्पक्षता, सेवाभाव र नैतिकताको प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो पेसाको मूल्य, मान्यता र आदर्शमा आँच नआउने गरी पत्रकारले निष्पक्षरूपमा इमानदार भई सूचना संकलन र सम्प्रेषण गर्छन् भने पुस्तकालयकर्मीहरूले ती सम्प्रेषित समाचारलाई सङ्कलन, व्यवस्थापन गरी अभिलेख राख्दछन् र सही सूचना आवश्यक भएको समयमा उपलब्ध गराउँछन् । साथै ती समाचार भविष्यका लागि सुरक्षित राख्ने कामसमेत गर्दछन् । त्यसैले दुवै पेसाका मुख्य काम आम नागरिक तथा पाठकहरूलाई देश, काल र परिस्थिति सापेक्षका घटना र विचारमा सुसूचित गराउनु रहेको पाइन्छ ।
शुरु–शुरुमा सूचना सम्प्रेषण कार्य टिन ठटाउँदै प्रत्यक्ष कराएर, बिगुल फुकेर आदि माध्यमबाट जनतालाई सूचित गराउने कामबाट गरिन्थ्यो । यसै गरी अक्षर र भाषाको विकास नहुन्जेलसम्म श्रुतिस्मृतिका माध्यमबाट र निकै पछि गिलो माटोका पट्टिकाहरूमा हातले लेखी सुकाएर अभिलेख राख्ने गरिएको कुरा प्राचीन सुमेरिया, मेसोपोटामिया, मोहेन्जादारो, हरप्पा, नालन्दा, तक्षशिला आदिका प्राचीन अभिलेखालयका अवशेषहरूबाट ज्ञात हुन आउँछ । यस्तै प्राचीन लिखित अवशेषहरू सङ्कलन गरी पुस्तकालयको इतिहास शुरु भएको हो ।
नेपालमा पुस्तकालय तथा सञ्चारको आधुनिकताको विकास पृथ्वीनारायण शाहको शासनकालबाट भएको देखिन्छ । त्यस समयमा सूचना–सम्प्रेषण तथा आदानप्रदानका साथै चिठीपत्र र समाचार सञ्चारका लागि हुलाकको व्यवस्था गरिएको थियो । उक्त समयमा पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू पनि सम्प्रेषण गरिएको पाइन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा चारैतिर छरिएर रहेका प्राचीन ऐतिहासिक अभिलेखहरू पनि सङ्कलन गरेको देखिन्छ । ती सङ्कलित पाण्डुलिपिहरू हनुमानढोकास्थित वसन्तपुर दरबारको पूजाकोठामा थन्क्याइएका थिए । नेपाली संस्कृतिको भण्डार पाण्डुलिपिहरू र हस्तलिखित ग्रन्थहरूको संरक्षण र सुव्यवस्थापन गर्न श्री ५ गीर्वाणयुद्ध वीर विक्रम शाहदेवले वि.सं. १८६९ मा ‘पुस्तक चिताइ तहबिल’ नामक अधिनियम बनाई लालमोहर जारी गरे । त्यसैले नेपालको इतिहासमा पुस्तक चिताइ तहबिल नै पहिलो कानुनी रूपमा मान्यताप्राप्त पुस्तकालय तथा लिखित दस्तावेजहरूको अभिलेखालय हुन पुग्यो । पन्ध्रौं शताब्दीमा जोहानन गुटेनबर्गले प्रिन्टिङ प्रेसको आविष्कार गरेपछि मात्र विश्वमा छापा माध्यमबाट पुस्तक प्रकाशन युगको शुभारम्भ भयो । त्यसपछि पुस्तक, पत्रपत्रिकाहरू प्रकाशन हुने कामले तीव्रता पायो । अब मानिसहरूका भावनाहरू सहज, सरल र छिटो लिपिबद्ध भई प्रकाशन हुने भए । प्रकाशनको युग शुरु भएपछि सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण तथा पुस्तकालयलाई सूचनाको संकलन, सम्प्रेषण गर्ने सहज वातावरण बन्यो ।
वि.सं. १९०८ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले हाते प्रेस नेपालमा भित्र्याए । अब पुस्तक प्रकाशनका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य भयो । प्रेस भित्रिएको ४७ वर्षपछि वि.सं. १९५५ मा नेपाली भूमिमा पहिलोपटक ‘सुधा सागर’ साहित्यिक मासिक पत्रिका प्रकाशन भयो । सो पत्रिकाको प्रकाशन मोतिराम भट्ट र कृष्णदेव पाण्डेले गरेका थिए । हुन त मोतिराम भट्टले भारतको बनारसबाट नै १९४३ मा ‘गोरखा भारत जीवन’ नामको पत्रिका नेपाली भाषामा प्रकाशन गरिसकेका थिए । ती पत्रिकाहरू अहिले पनि पुस्तकालयहरूमा पाउन सकिन्छ ।
नेपालमा आमसञ्चार र पुस्तकालयको स्थापना र विकासको इतिहास सङ्घर्षमय देखिन्छ । जब देशमा राणा शासनको शुरू भयो तब जनतालाई सुसूचित गराउने क्षेत्रमा अंकुश लगाइयो । त्यसमा पुस्तकालय तथा सञ्चार क्षेत्र अछूतो रहने कुरै भएन । ‘सुधा सागर’ साहित्यिक पत्रिका प्रकाशन गरी नेपालमा पत्रिकाको प्रकाशन गर्न शुरु गरे तापनि २००७ सालसम्ममा आइपुग्दा दुई दर्जन पनि पत्रिका प्रकाशन भएको पाइँदैन । त्यसै गरी पुस्तकालयको क्षेत्रमा पनि ‘पुस्तक चिताइ तहबिल’ का पुस्तकहरू एक ठाउँबाट अर्को ठाउँमा सार्ने र नयाँ नाम दिने काम मात्र भएको देखिन्छ । यो कालखण्ड पुस्तकालय तथा पत्रकारिताको विकासको दृष्टिकोणले अत्यन्त दुर्भाग्यपूर्ण देखियो । यस्तै कार्यले इतिहासमा राणाकाललाई अन्धकारको समयका रूपमा विशेषण दिइयो । यति हुदाँहुँदै पनि तुलनात्मकरूपमा देवशमशेर जनताप्रति उदार देखिएको पाइन्छ । देवशमशेरको पालामा नेपालको पहिलो समाचारपत्र गोरखापत्रको प्रकाशन प्रारम्भ भयो । राज्याभिषेकका बेलामा गोरखापत्रको वर्ष १ अङ्क २ मा एक विज्ञप्ति प्रकाशन गरी सर्वसाधारणका लागि घण्टाघर लाइब्रेरी पनि खुला गराइयो ।
देशमा २००७ सालमा राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि अन्य क्षेत्रजस्तै पत्रपत्रिका प्रकाशन र पुस्तकालयहरू खोल्ने वातावरण पनि सहज भयो । फलस्वरूप समाजका पुस्तकालय र पत्रपत्रिकाहरू जन्मने र जन्माउने होडबाजी नैै चल्यो भन्दा अत्युक्ति नहोला । वि.सं. २००८ देखि २०१५ सम्ममा आइपुग्दा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिक अर्धवार्षिक, वार्षिक आदि गरेर १८८ वटासम्म पत्रपत्रिकाहरू प्रकाशन भएको तथ्य छ । प्रजातन्त्रको स्थापनापछि लगत्तै रेडियो पत्रकारिताको पनि शुरुवात भयो । तसर्थ पत्रकारिताले जनताका कुरा सरकारलाई र सरकारका कुरा जनतालाई उपलब्ध गराउँदै देशको चौथो अंगको जिम्मेवारी बहन गर्न पुग्यो । त्यसै गरी देशमा प्रजातन्त्रको स्थापनापछि सामुदायिक/सार्वजनिक पुस्तकालयहरू मात्र होइन राष्ट्रिय पुस्तकालयको पनि आवश्यकता महसुुस हुन थाल्यो । पं. हेमराज पाण्डेले आफ्नो घरमा स्थापना गरेको भारती भवन नामको निजी पुस्तकालयका पुस्तकहरू वि.सं. २०१३ मा नेपाल सरकारले खरिद गरी सिंहदरबारभित्र नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना भयो । यस सुकर्मले अध्ययन अनुसन्धानको ढोका खोलिदियो ।
नेपालमा पत्रकारिता र पुस्तकालयको क्षेत्र कानुनी मान्यताका आधारमा धेरै नै अन्तर देखिन्छ । सरकारले पत्रकारितालाई व्यवस्थित रूपमा विकास गर्नका लागि कानुनी हैसियत २००४ सालको वैधानिक कानुनबाटै शुरुवात गरेको थियो । प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा व्याख्या गरेको थियो । तर विडम्बना तिनै पत्रकारहरूलाई खोज तथा अनुसन्धानका लागि स्रोत जुटाइदिने साथै प्रकाशन तथा प्रसारण भएका सामग्रीहरूलाई सङ्कलन गर्ने पुस्तकालयको आवश्यकता बोध २०७२ सालको संविधानमा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा मात्र सीमित हुन गएको छ । छापाखाना र प्रकाशनसम्बन्धी ऐन २००९ सालमा जारी भए तापनि पुस्तकालय तथा सूचना नीति २०६४ सालमा मात्र जारी भएको छ । उक्त नीतिले पुस्तकालय ऐन र पुस्तकालय विकास बोर्डको पनि परिकल्पना गर्याे तर यसलाई कार्यान्वयन गर्ने विषयमा सरकार अझैसम्म उदासीन नै देखिन्छ । जनताको आवाज बोल्ने पत्रकारहरूको समाचारमा पनि पुस्तकालय क्षेत्र प्राथमिकतामा नपर्नु अस्वाभाविक र अयुक्तिसङ्गत भएको पुस्तकालयकर्मीहरूको बुझाइ छ ।
अन्त्यमा, हिजो बिगुल फुकेर सूचना दिने सञ्चारमध्यमहरू आज अनलाइनबाट क्षणभरमै सूचना सम्प्रेषण गरिरहेका छन् । त्यसै गरी माटाका पट्टिकाहरूमा कुँदिएर लिपिबद्ध भएका सूचना सामग्रीहरू मठ, मन्दिर, चैत्य आदिमा सङ्कलन गरी पुस्तकालयको रूपमा सेवा प्रदान गर्दै आएका पुस्तकालयहरू अनलाइनको माध्यमबाट पाठकका हातहातमा पुस्तकालय सेवा पुर्याउन सफल भएका छन् । आधुनिक सूचना तथा सञ्चार प्रविधिको द्रुतगतिमा विस्तार र बढ्दो प्रयोगको प्रभाव आमसञ्चार तथा पुस्तकालयको क्षेत्रमा पनि दिन–प्रतिदन बढ्दै गइरहेको छ, जसलाई समयको मागसँगै आधुनिकताको सहज उपजका रूपमा लिन सकिन्छ । अबका पुस्तकालयहरू सञ्चारसँग पनि जोडिने क्रममा छन् । आमसञ्चार र पुस्तकालय दुवैको उद्देश्य पाठकहरूलाई सूचना सम्प्रेषण गर्नु हो । मिडिया लाइब्रेरीको अवधारणाका बारेमा पनि बहस गर्न ढिला गर्नुहुँदै । पुस्तकालय तथा आमसञ्चारको विकासमा संलग्न निकाय एवं संघसंस्थाहरूको ध्यान मिडिया लाइब्रेरीको स्थापनातिर जाओस्, आजको माग पनि यही छ । हार्दिक शुभकामना ।
(लेखक शर्मा त्रि.वि. केन्द्रीय पुस्तकालयमा पुस्तकालय अधिकृत हुनुहुन्छ ।)
प्रतिक्रिया