चाडबाडको मौका छोपेर आयल निगमले पेट्रोल, डिजेलमा मूल्यवृद्धि ग¥यो । पेट्रोल, डिजेलमा प्रतिलिटर ३ रुपियाँ बढ्यो । यता, प्रतिग्यास सिलिन्डिरमा सीधै ५० रुपियाँ बढाइयो । सरकारले सोच्दै नसोची मूल्यवृद्धि गर्दा जनता पीडित बनेका छन् ।
ग्यासमा सबैभन्दा धेरै मूल्यवृद्धि गरिएको छ । हरेक सर्वसाधारणलाई चाहिने भनेको ग्यास नै हो । यसरी अस्वाभाविकरुपमा ग्यासको मूल्य बढाउँदा बिहान कमाएर बेलुका छाक टार्नेहरु निकै मारमा परेका छन् । सरकारको ओहोदामा बस्नेहरुले व्यापारीहरुसँग आर्थिक लेनदेनको आडमा आयल निगमलाई दबाब दिएर यी चीजहरुको मूल्य बढाएको सुन्नमा आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा व्यापारीहरुको चम्चे बन्दा यसको मार जनतालाई परेको प्रस्ट देखिएको छ । जसको कारण कांगे्रस र माओवादीको विद्यार्थी संगठन चुप लागेर बसेका छन् । नत्र भए सडकमा झन्डा निकाल्दै उत्रिसक्थे । विद्यार्थी संगठन चुप लागेर बस्नुको दुई कारणमा आफ्नो पार्टीको सहयोग गर्नु र विरोध नगर्ने सर्तमा आयल निगमसँग कमिसन लिनु ।
गाउँबाट शिक्षाका लागि शहर आएका विद्यार्थीलाई सरकारी क्याम्पसमा भर्ना हुनेबित्तिकै विद्यार्थी संगठनका नेताहरुले आफ्नो संगठनको सदस्य बनाउँछन् । पार्टीको झन्डा बोक्न लगाउँछन् । आयल निगम घेर्न जाँदा सीधासाधा विद्यार्थीलाई लिएर जाने, मिडियाबाजीमा पनि विद्यार्थी संगठनका नेताहरु अघि आउँछन् ।
विद्यार्थी संगठनका नेताहरु दिउँसो आयल निगमको विरोध गर्ने, बढाएको मूल्य फिर्ता गर भन्दै सडकमा उत्रिन्छन् । राति त्यही आयल निगममा गएर कमिसनको लागि पार्किङ गर्छन् । विद्यार्थी संगठनका नेताहरुको काम नै यही नै हो । उनीहरुको चलनचल्ती र कमाउधन्दा हो यो ।
सबैभन्दा बढी भ्रष्टाचार गर्ने नै विद्यार्थी संगठनका नेताहरु हुन् । यिनीहरुले हरेक ठाउँमा कमिसन माग्छन् । विद्यार्थीको हकहितमा नारा दिने, व्यापारीहरुसँग चन्दा उठाउने गरेका छन् । सरकारसँग सहयोग त माग्छन् नै, क्याम्पसमा राज्यले गरेको सहयोगमा पनि यी संगठनका नेताहरु आफ्नो प्रभुत्व जमाउन खोज्छन् ।
आफ्नो पार्टी सत्तामा भएको बेलामा जति महँगी बढे पनि, आफ्नो पार्टीका नेताहरुले भ्रष्टाचार गरे पनि यिनीहरु चुइँक्क बोल्दैनन् । पार्टी विपक्ष हुनेबित्तिकै सरकारी गाडी तोडफोड गर्ने, सरकारी गाडीलाई आगो लगाइदिने र सरकारी कार्यालयमा गएर ताला ठोकिदिने गर्छन् । सरकारी कार्यालयमा भएको सरसामान तोडफोड गर्दछन् । सरकारी गाडी होस् या सरकारी कार्यालयका सामान यी सब जनताले तिरेको करबाट किनिएको हो । गुण्डा शैलीमा सरकारी सम्पत्ति तोडफोड गर्न यिनीहरुलाई फिटिक्कै लाज लाग्दैन ।
अहिले सरकारमा भएका मन्त्रीदेखि प्रधानमन्त्रीको पृष्ठभूमि हेर्ने हो भने विद्यार्थी संगठन बनाएर जुलुस गरी यहाँसम्म आइपुगेका हुन् । यिनीहरुले हिजो के गरे, आज के गर्दै छन् ? बस् आफ्नो धोक्रा भर्ने काम मात्र गर्दै छन् । अहिले संगठन भएका नेताहरुको योजना पनि यही नै हो । आन्दोलन गर्ने, जनतालाई देखाएजस्तो गर्ने अनि सांसद र मन्त्री पद हत्याउने । यिनीहरुको यो भन्दा अरु केही काम गर्ने क्षमता छैन । यिनीहरुले जनतालाई झुटो नारा दिएर व्यक्तिगत सम्पत्ति जोडेका छन् । मोजमस्ती गरेका छन् तर गर्नुपर्ने काम भने केही पनि गरेको जस्तो देखिन्न ।
स्पष्ट भाषामा भन्ने हो भने, यिनीहरु दलाली हुन् । जनताले समेत यिनीहरुलाई हटाउनुपर्छ, यस्ता काम नलाग्ने मन्त्री र प्रधानमन्त्रीले देश बिगारे भनेको कुरा प्रायः सुन्नमा आइरहन्छ । हिजो क्याम्पसमा भर्ना गर्न नसकेर, मासिक फी तिर्न नसकेर, जुत्ता नभएर यिनीहरु संगठनमा लागेका हुन् । अहिले यिनीहरुको काठमाडौंमा यत्रो घर छ । यिनीहरुको लवाइखुवाइ र चढ्ने सवारीसाधन हेरौं न । यत्रो सम्पत्ति यिनीहरुले कहाँबाट जोडे ? यो खोतल्ने कसले ?
सरकार यिनीहरुकै पक्षमा लागिहाल्छ । जनता आवाजविहीन छन् । कलम चलाउनेहरुले पनि यिनीहरुको विरोधमा कलम चलाएका छैनन् । सरकारले भ्रष्टाचार न्यून गर्ने हो भने यिनीहरुको व्यक्तिगत सम्पत्ति छानबिन गर्नुपर्छ । यिनीहरुको सम्पत्ति छानबिन गर्ने हो भने देश विकास गर्न पुग्ने पैसा बाहिर आउँछ । तर यिनीहरुको सम्पत्ति छानबिन गर्ने आँट कसले राख्छ ? यिनीहरुको मात्र होइन, सबै पार्टीका विद्यार्थी संगठनका नेताहरुको सम्पत्ति छानबिन गरौं ।
भूपू बहालवाला नेताहरुको पनि सम्पत्ति छानबिनमा जोड देऔँ । व्यापारीहरुले राजनीतिक दललाई पैसा दिएर पार्टी चलेको छ । सत्तामा बस्ने राजनीतिक दल र विपक्षीका नेताहरुले भ्रष्टाचार गरेर र व्यापारीहरुसँग चन्दा उठाएर अर्बौंको व्यक्तिगत सम्पत्ति जोडेका छन् । राजनीतिक दलहरु आफ्नो व्यक्तिगत सम्पत्ति जोड्ने अनि महँगीको मारमा चाहिँ जनतालाई पार्ने ?
व्यापारीले दिएको पैसामा राजनीतिक दलहरुले मोजमस्ती गरेका छन् । अनि व्यापारीले महँगी बढाउँदा पनि यिनीहरुले मौन बस्छन् । जनताले खुट्टामा एकजोर चप्पल नलगाईकन तिरेको करबाट किनेको गाडीमा चढ्न यी भ्रष्टाचारीलाई लाज लाग्दैन । त्यही जनताले तिरेको करबाट अझै देश–विदेश घुमेका छन् । धर्मकर्म गर्ने भन्दै सरकारी गाडी चढेर मठमन्दिर धाउने, राजनीति भन्दै यिनीहरुले व्यापारको धन्दा चलाएका छन् । राजनीतिको नाममा व्यापार व्यवसाय सञ्चालन गरेका छन् ।
राजनीति भनेको सेवा हो । जुन देशले राम्रो राजनीतिज्ञ पाउँछ त्यो देश चाँडै नै विकास हुन्छ । तर हाम्रो देशमा राजनीतिको नाममा भ्रष्टाचार, व्यापारीकरण चलेको छ । महँगी र बेरोजगारीले जनतालाई आत्महत्या गर्न बाध्य बनाएको छ । विदेशीसँग नेपाल सरकारले ऋण लिएर एउटा नागरिकको टाउकोमा ५८ हजार ऋण बोकाएर देश डुबाइहाले । जनताको नाम बेचेर नेताहरुले व्यक्तिगत सम्पत्ति जोडे, देश–विदेश घुमेका छन् । आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । अझ जनताको अघि खोक्रो आश्वासन दिन तयार छन् यी दलालीहरु ।
यही नेताहरुको खोक्रो भाषण सुन्दा आज नेपाल र नेपालीको हालत यस्तो छ । खाद्य सामग्री किन्न नसकेर कतिपय आफ्नो पेटमा पटुका बाँधी हिँड्न बाध्य छन् । महँगीले जनतालाई रुनु न हाँस्नु बनाएको छ । नेताहरुको झोले बन्दा देश सिद्धिसकेको छ । अझै पनि हामी जनतालाई कार्यकर्ता बन्न मन छ कि ?
अब हामी नेपाली जनताले कसरी खाने भनेर सोच्ने कि कार्यकर्ता बन्नतर्फ ध्यान दिने ? यिनीहरु दलाली हुन् भन्ने कुरा त पारदर्शी छ । यिनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नेबाहेक देश विकासको अरु उपाय छैन । अन्तिम स्थिति नै यही हो । जहिले पनि विदेशीसँग ऋण ल्याउँदै यी भ्रष्टाचारीहरुको धोक्रो भर्दै हामी नागरिकहरुको टाउकोमा थुपार्ने ?
अहिले बजारमा एक लिटर खानेतेलमा ६५ रुपिँयासम्म मूल्य बढेको छ । अन्य खाद्यान्न पनि छोई नसक्नु भएको छ तर पनि अनुगमनमा ध्यान दिएको देखिँदैन । यस्ता नेता र सरकारी कर्मचारीले देश विकास गर्लान् भन्ने नसोच्दा पनि हुन्छ । अब आयल निगमले बढाएको मूल्य तत्कालै फिर्ता गर्नुप¥यो । यता, बजार अनुगमनमा तीव्रता दिनुप¥यो अनि मात्र जनताले सास फेर्न पाऊलान् ।
– अनुसा थापा, भक्तपुर ।
प्रतिक्रिया