अरूलार्ई गाली गर्दा मजा आउने ‘रोग’ का शिकार ओली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष अरूलाई गाली गरेर मजा लिने प्रवृत्तिका कारण समस्यामा पर्नुभएको छ । अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी छोरी मानुषी यमीलाई गाली गरेर मजा लिन खोज्दा समस्यामा पर्नुभएको हो ।

‘बाबुरामले कहाँबाट खर्च पाए र छोरी मानुषीलाई बेलायत राखेर पढाए, हामीलाई भिसासम्म नदिने बेलायतले मानुषीलाई भने किन त्यस्तो सुविधा दियो’ अध्यक्ष ओलीले यस प्रकारको टिप्पणी गर्दा उहाँलाई ‘बा’ भनेर आदर गर्ने कार्यकर्ताको भीड मजा मानेर हाँसेको छ । त्यही हाँसोमा रमाउने ‘रोग’का कारण उहाँलाई अहिले सबैले ‘हावादारी मान्छे’ को संज्ञा दिएका छन् ।

मृगौला प्रत्यारोपणपछि सेवन गर्नुपर्ने औषधिका कारण उहाँमा रौसिने र तत्कालीन आनन्दका लागि मुखमा जे आउँछ त्यो बोलिदिने प्रवृत्ति देखिएको डाक्टरहरुले भन्दै आएका थिए । पछिल्लो टिप्पणीले भने उहाँलाई कडा आलोचनाको शिकार बनाएको छ । गल्ती भएकोमा स्वीकार गर्नुको साटो सूर्य थापालगायतका निकटस्थ सहयोगीलाई लगाएर सामाजिक सञ्जालमा ‘त्यसो भए द्वन्द्वकाल २०५२ देखि २०६२ सम्म छोरीलाई कहाँ लुकाएका थियौ त’ भनेर प्रतिवाद गर्न लगाउनुलाई ओलीको अर्को गल्तीका रूपमा टिप्पणीकर्ताहरुले आलोचना गरेका छन् ।

ओली औषधिकै असरका कारण असम्भव र अस्वाभाविक विषयमा पनि बोल्नुहुन्छ भन्ने डाक्टरहरुको टिप्पणी छ । कोरोनाले त्रासको उचाइ लिएका बेला उहाँले प्रतिनिधिसभाको बैठकमा बोल्दै बेसार–पानी खाने र हाछ्यु गरेर कोरोना फाल्ने सुझाव दिनुभयो । नाक, मुख छोपेर हिँड्ने कुरासम्म त ठीकै थियो, आँखामा चस्मा लाउने नत्र आँखाबाट पनि कोरोनाको भाइरस भित्र पस्छ भनेर पनि उहाँले सुझाव दिनुभयो । पछि, यी उपायहरु कोरोनाका ओखती होइनन् भनेर विज्ञहरुले प्रतिवाद गर्दा पनि उहाँले आफूलाई सच्याउनु भएन ।

विश्वमा कोरोनाको ग्राफ उकालो लाग्दै गरेको तर नेपालमा भने त्यसको प्रत्यक्ष असर नपरेका बेला २०७६ सालको चैत ७ गते प्रधानमन्त्रीका हैसियतले ओलीले स्वास्थ्यसम्बन्धी सुझावका साथ देशवासीलाई सम्बोधन गर्नुभयो । त्यस बेलासम्म नेपालमा कोरोनाले प्रवेश पाएको नदिएका कारण उहाँले महत्वाकांक्षी सपना देखाउनुभयो– ‘देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गरेको छ ।’ दुई–दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीको उत्साहजनक भाषण सुन्दा उहाँकै सरकारको रणनीतिक कुशलताका कारण कोरोना नेपालमा छिरेको थिएन, छिर्ने सम्भावना पनि थिएन । तर, व्यवहारमा उल्टो भयो ।

ओलीले स्वास्थ्य सुझाव दिँदै साबुन–पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजाने, मास्क लगाउने आदि उपाय बताउनुभयो । तर, उहाँ स्वयं बिनामास्क टेलिभिजनमा अन्तर्वार्ता दिनुहुन्थ्यो । ‘अन्तरवार्ता दिनेले नलाए पनि लिनेले लगाएका हुनाले हामी सुरक्षित छौं’ भनेर खिस्स हाँसिदिनुहुन्थ्यो । सुझाव दिने नै क्रममा उहाँले भन्नुभएको थियो– ‘हल्ला र अफवाहहरुबाट भ्रमित र प्रभावित नहुनुहोस् ।’ अरूलाई यस प्रकारको सुझाव दिए पनि उहाँ निरन्तर हल्ला र अफवाहमा लागिरहनुभयो । मानुषी यमी भट्टराईप्रतिको टिप्पणी यसकै उदाहरण बन्यो ।

उमेरले नातिनी भन्न सुहाउने मानुषीले यतिखेर ओलीलाई आफ्नो भनाइ पुष्टि गरेर देखाउन चोटिलो चुनौती दिनुभएको छ । जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मानुषी यमीले ‘तथ्यमा रहेर आरोप लगाउनुस्’ भनेकी छन् ।

आइतबार अध्यक्ष ओलीले ‘बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायतमा कसरी पढेका थिए ?’ भनेर प्रश्न उठाउनुभएको थियो । जवाफमा यमीले राजनीतिलाई कतिन्जेलसम्म हावादारी र मजाक बनाउनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । ‘स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमाले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किसकेका थियौँ । हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं, त्यहाँ हामी कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला’ को पेज नं. ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिन्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’ –यमीको प्रश्न छ ।

छोरी मानुषीअघि जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न अध्यक्ष ओलीलाई चुनौती दिनुभएको थियो ।

डा. भट्टराईले भन्नुभएको छ, ‘मित्र खड्गप्रसादजी, पूर्वप्रमजस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएका बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

आइतबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीद्वारा आयोजित देउसीभैलो तथा शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले माओवादी सशस्त्र विद्रोहको कुरा उप्काउँदै डा. भट्टराईमाथि खनिएर कार्यकर्तालाई मनोरञ्जन दिँदै हुनुहुन्थ्यो ।