गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चो बिसञ्चो कार्यक्रम

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

गर्भवती आमा र सुत्केरी महिलाको स्वास्थ्य सुरक्षाका लागि पर्वतको पैयुँ गाउँपालिकाले ‘गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम’ सुरु गरेको छ।

गाउँ पालिकाले २० बर्ष उमेर पुगेपछि गर्भवती र सुत्केरी भएका महिलालाई लक्षित गरि चालु आर्थिक बर्ष देखि ‘उपाध्यक्ष गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष सन्चो बिसन्चो कार्यक्रम’ सुरु गरेको हो ।

पैंयु गाउँपालिकाका खासगरी दलित र जनजाति समुदायको बस्तीमा बालबिबाह ठुलै समस्याको रुपमा रहेको छ । २० बर्ष उमेर पुगेपछि मात्रै बिबाह गर्न प्रोत्साहित गर्ने र गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ प्रदान गर्न थालिएको छ। ‘२० वर्ष उमेर पार गरेका गर्भवती तथा सुत्केरीहरूलाई समावेश गरिने भएका कारण सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउने समस्यालाई कम गर्न सहयोग पुग्ने बिश्वास लिएको छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले भन्नुहुन्छ‘यो कार्यक्रममले बालबिबाह नगर्ने र परिपक्क भएपछि बच्चा जन्माउने जोडीलाई प्रोत्साहित गर्छ।’

अधिकृत लामिछानेका अनुसार गाउँपालिका दिने उक्त रकम पाउनको लागि बच्चा जन्मिँदासाथ स्वास्थ्य संस्थाले उपलब्ध गराउने गरेको ‘बर्थ सर्टिफिकेट’, नागरिकताको प्रमाणपत्र र गर्भावस्थामा तोकिएको मापदण्ड अनुसार चार पटकसम्म गर्भ जाँच गरेको कागजात पेश गर्नुपर्छ। नागरिकताको प्रमाणपत्रको आधारमा आमाको उमेर जाँच गरेपछि उनीहरुलाई कार्यक्रम अन्तरगतको रकम उपलब्ध गराइन्छ। चार पटक स्वास्थ्य परीक्षण गरेको भए सुत्केरी हुनु अगाडि नै पनि पैसा लिन सकिने कार्यक्रमको कार्यविधिमा उल्लेख गरिएको छ।

आर्थिक अभावका कारण स्वास्थ्य संस्थासम्म जान नसक्नेहरुलाई ध्यानमा राखेर सुत्केरी हुनु पूर्व नै रकम दिने समेत व्यवस्था गरिएको हो। गर्भैमा बच्चाको मृत्यु भएको भएमा वा जन्मेपछि मृत्यु भएमा पनि महिलाले उक्त रकम पाउँछिन्। ती अवस्थामा पनि महिलालाई पोषणको आवश्यकता पर्ने भएकाले रकम दिने निर्णय कार्यपालिकाले गरेको हो। गाउँपालिकाकी उपप्रमुख जसमती गुरुङका अनुसार गर्भवती तथा सुत्केरीलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा, पोषण सुरक्षा, आर्थिक समस्या समाधान गर्नुका साथै बर्थिङ सेन्टरमा पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बच्चा जन्माउने बानीको विकास गर्नको लागि पनि यो कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ। ‘पैसा नपाएपछि वा सेवा सुविधा रोकिएपछि २० वर्षपछि मात्रै बच्चा जन्माउनको लागि प्रेरणा मिल्छ भन्ने हामीलाई लागेको छ। वार्षिक करिब ८० जना गर्भवती भएको हुन सक्ने अनुपात हामीले निकालेका छौँ,’ उपाध्यक्ष गुरुङ्ग भन्नुहुन्छ ‘यो अभियानले मातृ तथा शिशु मृत्युदर मा कमी ल्याउनेछ। अति गरिब तथा समस्यामा रहेको परिवारलाई यो सहयोग ठुलो हुन्छ।’

कार्यक्रम अनुसार खाद्य सामग्री पनि वितरण गर्न सकिन्छ तर नगद नै दिँदा आवश्यक सामग्री खरिद गर्न सहज हुने भएकाले नगद वितरणमा जोड दिइएको छ।