पुष्कर बुढाथोकी, भक्तपुर ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको नयाँ थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत नेपालको मौलिक संवत भएकाले यसको सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको बताउनुभयो।
प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको शुरुवात गर्नुभयो । प्रतिष्ठानले नेपाल संवत र शंखधर साख्वाःको बारेमा पूर्ण जानकारी समेटिएर नेपाल संवत् एपः तयार पारेको हो । कार्यक्रममा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संबत्को ब्यबहारिक कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा कांगे्रस सहमहामन्त्री डा.प्रकाशशरण महत,संघीय सांसद भीमसेनदास प्रधान,संघीय सांसद महेश बस्नेत,बागमति प्रदेशका भौतिक पुर्वाधार बिकासमन्त्री कृष्णलाल भँडेल, प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ,मथिनपा प्रमुख मदनसुन्दर श्रेष्ठ,प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ,उपाध्यक्ष ज्ञानराम श्रेष्ठ,निबर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर,सम्मानित ब्यक्तित्व डा.श्रीकृष्ण अधिकारी लगायतले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान बारे चर्चा गर्नुभयो ।
अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेशन गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोको रुपमा रहेकाले यसलाई बैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरि नेपाल संवत्, बिक्रम संवत् र इश्वी संवत्समेत समेटिएर तयार पारिएको छ ।
कार्यक्रममा ईमेज ग्रुपका अध्यक्ष तथा शंखधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शंखधर प्रतिष्ठानलाई शंखर साख्वाको २ किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो । यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शंखधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पूव मेयर मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।
नेपाल संवत्का दिन राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले विविध कार्यक्रम गरी उहाँको योगदानको सम्झना गर्दै आएको छ ।
प्रतिक्रिया