जब–जब नेपाल संवत्को नयाँ वर्ष न्हूदँ आउँछ तब–तब नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःको नाम चर्चामा आउँछ ।
नेपाल संवत् भन्नासाथै शंखधर साख्वाःको नाम आउँछ । शंखधर साख्वाःको नाम चर्चामा ल्याउने काम गर्ने व्यक्तित्व भनेको नेपाल संवत्को नयाँ वर्ष आन्दोलनका अगुवा पद्मरत्न तुलाधर हुन् । नेपाल संवत्सँग सम्बन्धित अर्का व्यक्तित्व भनेको पद्मरत्न तुलाधर भन्दा केही फरक पर्दैन । त्यसै गरी नेपाल संवत्सँग सम्बन्धित अर्का व्यक्तित्व भनेको तत्कालीन अवस्थामा भक्तपुरका राज ज्योतिष अर्थात् दैवज्ञ सिद्धिवन्त जोशी हुन् । सिद्धिवन्त जोशीले बालुवा सुन हुने शुभ मुहुर्त अर्थात् साइत दिएका थिए ।
यी तीन व्यक्तित्व नेपाल संवत्सँग सम्बन्धित विशिष्ट व्यक्तिहरु हुन् । शंखधर साख्वाः ऐतिहासिक व्यक्तित्व हुन् भन्ने कुरा शिलापत्रदेखि अभिलेखबाट प्रमाणित भइसकेको छ । पद्मरत्न तुलाधर केही वर्षअघि मात्र निधन भएका व्यक्तित्व हुन् भने सिद्धिवन्त जोशी ऐतिहासिक रुपमा पुष्टि हुन बाँकी भएका तर विभिन्न वंशावलीमा नाम उल्लेख भएका र नेपाल संवत्को कथासँग सम्बन्धित व्यक्तित्व हुन् । जे भए पनि यी तीन व्यक्तित्व नेपाल संवत्सँग सम्बन्धित र बिर्सन नहुने नामहरु हुन् ।
शंखधर साख्वाः
शंखधर साख्वाःलाई नेपाल सरकारले २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषणा गरे । शंखधर साख्वाः नेपालको राष्ट्रिय विभूति घोषणा हुनुको कारण नेपाल संवत्का प्रवत्र्तक भएकोले हो । साख्वाःले समाजका लागि तत्कालीन अवस्थामा नेपाल मण्डलका जनतालाई ऋण मुक्त गरी समाजसेवी कार्य गरेकै कारणले उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको हो । तत्कालीन अवस्थामा कान्तिपुर, ललितपुर र भक्तपुरको बीच भागमा रहेको हाल अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्रमा नै बसी सबै जनताको ऋणको तमसुक लिई ऋणबाट मुक्त गरेको कुरा ग्रन्थ र वंशावलीहरुमा उल्लेख छ ।
नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाः काठमाडौंको मरु इलाछेँ टोलका व्यापारी हुन् भन्ने गरिन्छ । कसै–कसैले मध्यपुर थिमिका र कसैले भक्तपुरकै पनि भन्ने गर्छन् । तर उनको जन्मको बारेमा ऐतिहासिक तथ्य खोजीको विषय बनेको छ । साख्वाःको निधन भने नेपाल संवत् १० मा भएको कुरा ग्रन्थ र थ्यासफूमा उल्लेख भएका् छ भन्नेहरु पनि छन् ।
उनले विक्रम संवत् ९३६ मा जनतालाई ऋणबाट मुक्त गरेका हुन् । तत्कालीन अवस्थामा कान्तिपुरका राजा राघवेवले शंखधरको योगादनलाई कदर गरी पशुपतिनाथ परिसरभित्र उनको मूर्ति स्थापना गरेको भनिन्छ । त्यही मूर्तिको चित्रलाई शंखधरको नामबाट सार्वजनिक गर्ने काम भयो । सो समयदेखि निरन्तररुपमा शंखधरको तस्वीर नेपाल संवत्को नयाँ वर्षको दिनमा प्रदर्शन गर्ने काम गरिँदै आएको छ ।
सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेपछि उपत्यकामा मात्रै हैन, उपत्यकाबाहिर पनि विभिन्न स्थानमा उनको प्रतिमा बनाउने काम तीव्ररुपमा भइरहेको छ । नयाँ वर्षको दिनमा शंखधरको तस्वीर मात्र हैन, प्रतिमासमेत बोक्दै घुमाउने चलन आएको छ । विभिन्न आकारप्रकारमा शंखधरका तस्वीर र प्रतिमा बनाउने काम नभएको हैन, तैपनि पशुपतिमा भएको प्रतिमालाई नै प्रमुख आधारको रुपमा लिँदै आएको पाइन्छ । पछिल्लो समयमा त शंखधरलाई विभिन्न देवी–देवताजस्तै मान्दै प्रतिमाको जात्रा गर्ने चलनसमेत आइसकेको अवस्था छ । जे भए तापनि शंखधर साख्वाः एक ऐतिहासिक पुरुष र नेपालकै राष्ट्रिय विभूति भइसकेको अवस्था छ ।
सिद्धिवन्त जोशी
नेपाल संवत् कसरी चल्यो भन्ने बारेमा यहाँ उल्लेख गरौं । वंशावली, ग्रन्थ र थ्यासफूहरुमा भएका कथाहरुको आधारमा भन्दा विशेष व्यक्तित्व हुन् भक्तपुरका ज्योतिषी सिद्धिवन्त जोशी । तत्कालीन अवस्थामा राज ज्योतिष भएका जोशीले दिएकै शुभ साइतमा कान्तिपुरको लुँ खुसी हुँदै लखु खुसी भएको विष्णुमत भद्रमति दोभानमा बालुवा लिन भक्तपुरबाट बिहान सबेरै चारजना आएका थिए । तत्कालीन अवस्थामा भक्तपुरका राजाले नै ज्योतिषीको सल्लाह अनुसार बालुवा लिन पठाएको कथा छ ।
एकाबिहानै लखुतीर्थमा बालुवा लिई कुरा गर्दै आएको कुरा थाहा पाएपछि तत्कालीन व्यापारी शंखधर साख्वाले यसमा केही रहस्य अवश्य पनि होला भनी उनीहरुले साइतमा ल्याएको बालुवा आफ्नोमा राखेर अर्को बालुवा दिई पठाए भन्ने छ । पछि शंखधरको घरमा पुगेको बालुवा सुन भएछ । तर भक्तपुरमा पुगेको बालुवा भने बालुवा मात्रै भएछ । यो घटनापछि सिद्धिवन्त जोशीको ज्योतिष शास्त्रप्रति भक्तपुरमा अविश्वास भयो । उक्त शास्त्र लेखिएको थ्यासफू जलाए भन्ने छ । पछि भक्तपुरबाट आएकाहरुको खर्पनमा भने सुनका कणहरु देखियो । यो घटना पछि बुझ्दा कान्तिपुरमा शंखधर भन्ने व्यक्तिले साइटमा ल्याएको बालुवा आफ्नोमा राखेको कुरा थाहा पाए । त्यसपछि शंखधर साख्वाले उक्त सुनबाट देशवासीको ऋण मुक्त गर्ने र नेपाल संवत् शुरु गर्ने प्रस्ताव गरे । संवत् पनि कुनै धर्म वा राजा–महाजाराजाको नाममा नभई देशकै नाममा राख्ने प्रस्ताव सिद्धिवन्त जोशीले गरे । उक्त समयमा भेला भएका सबै सहमत भए ।
त्यसैले नेपाल देशकै नमबाट नेपाल संवत् शुरु भएको मानिन्छ । यो समय भनेको कान्तिपुरमा राघवदेव र भक्तपुरमा आनन्ददेवले राज्य सञ्चालन गरिरहेको अवस्था हो । तत्कालीन अवस्थामा भक्तपुरका राज ज्योतिष सिद्धिवन्त जोशी भक्तपुरका तेखा पुखू अर्थात् खाच्वका हुन् भनिन्छ । सिद्धिवन्त जोशीलाई नै तत्कालीन अवस्थामा भक्तपुरको दरबार क्षेत्रमा रहेको सुनको ढोका अर्थात् लुँध्वाखा दिएको भन्ने छ । उनकै सन्तानहरुले भुपतिन्द्र मल्लको समयमा गंगाधर जोशीले नेपाल संवत् ८८८ मा तेखा पुखू निर्माण गरेको भनिन्छ । सिद्धिवन्त जोशीको बारेमा अभिलेखमा कुनै प्रमाण नभए तापनि उनका सन्तानहरुबाट यसबारे पत्ता लगाउने प्रयास भइरहेको अवस्था छ । उनका सन्तानहरु आज पनि भक्तपुर र उपत्यकाका विभिन्न स्थानमा र विभिन्न जिल्लाहरुमा पनि रहेका छन् । त्यसैले सिद्धिवन्त जोशीको बारेमा अध्ययण अनुसन्धान जरुरी छ ।
पद्मरत्न तुलाधर
नेपाल संवत् ११०० देखि नेपाल संवत्को आन्दोलन शुरु गर्ने व्यक्तित्व हुन् पद्मरत्न तुलाधर । पञ्चायतकालमा कुनै दल खोल्ने र आफ्नो कुरा राख्ने ‘दबलि’ नएको अवस्थामा सडकमा आउने र जनतालाई आफ्नो कुरा राख्ने एउटा ठूलो माध्यम नेपाल संवत्को आन्दोलन भएको थियो । सो समयमा राष्ट्रियताको भावना बोकी नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने मागसहित नयाँ वर्षको आन्दोलन लामो समयसम्म भयो । नेपाल संवत्को आन्दोलनका प्रवक्ता पद्मरत्न तुलाधर थिए । उनले शुरु गरेको नेपाल संवत्को आन्दोलनका कारण नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा स्वीकार गरियो । आन्दोलनकै बलमा नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरियो ।
नेपाल संवत्को आन्दोलन जनताले शुरु गरेको सडकबाट सदन हुँदै सरकारसम्म पनि पुगेको छ । सरकाले पनि निर्णय गरेको छ । यो आन्दोलनका विशेष व्यक्तित्व पद्मरत्न तुलाधर हुन् । उनी पूर्वपत्रकार एवं साहित्यकार पनि हुन् । तुलाधर भाषा आन्दोलनका अगुवा पनि हुन् । तत्कालीन अवस्थामा चन्द्रशमशेरले नेपाल संवत्लाई विस्थापित गरी विक्रम संवत्लाई अपनाउने काम गरेका थिए । यही कुरालाई जनताको बीचमा पु¥याई नेपाल संवत्को आन्दोलन शुरु गर्ने काम आजभन्दा ४२ वर्षअघि भएको हो । तुलाधरको नेतृत्वमा भएको आन्दोलन अहिले देशव्यापीरुपमा भएको अवस्था छ । आन्दोलनकै बलले वि.सं. २०६५ कार्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय सवत्को रुपमा घोषणा गरेको थियो । पद्मरत्न तुलाधरको अर्काे नाम परतु हो । उनको जन्म काठमाडांैको न्हय्कंटोलमा नेपाल संवत् १०६२ सिल्लाथ्व पुन्हिको दिनमा भएको हो र निधन नेपाल संवत् ११३८ मा भएको हो ।
नेपाल संवत् शुरु भएको दिनको कुण्डली
देशवासीलाई ऋणवाट मुक्त गरी आजभन्दा ११४२ वर्षअघि नेपाल संवत् शुरु भएको हो । नेपाल संवत् शुरु भएको दिन नेवाः संस्कृतिको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ । नेपाल संवत् शुरु भएको दिन कस्तो दिन हो भन्ने विषयमा सबैको चासो भइरहेको अवस्थामा भक्तपुरका तलेजुका ज्योतिषी कृष्णराज जोशीले सो दिनको कुण्डली तयार गर्नुभएको छ । नेपाल संवत् शुरु भएको दिन कुन राशी, कुन नक्षत्र, कुन योग र कति राम्रो दिन हो भन्ने विषय कुण्डलीमा उल्लेख छ । लामो समयसम्मको अध्ययनबाट दैवज्ञ कृष्णराज जोशीले तयार गर्नुभएको कुण्डली यस प्रकार छ ।
नेपाल संवत् शुरु भएको दिन वि.सं. ९३६ कार्तिक २४ गते सोमबार हो । इस्वी संवत् ८७९ अक्टोबर २३ तारिख । नक्षत्र विशाखा, करण नाग, योग शौभाग्य, राशी तुला हो भने लग्न सूर्य, चन्द्र, राहु, शुक्र शिरमा परेको, बुध र बृहस्पति धनमा, शनिश्चर र केतु सप्तम स्थान अर्थात् शिरमा परेको अवस्था हो अनि मंगल द्वादश स्थान अर्थात् पैतालामा परेको दिन ।
कुण्डलीअनुसार शुक्रको राशी तुला भएकोले शुक्र आफ्नै घरमा रहेको र कुलदीपक योग, पञ्चमा पुरुष योग भएकोले ठूला–ठूला कीर्ति राख्ने र पछि कालान्तरमा फल प्राप्त हुने । कुण्डलीमा व्याख्याअनुसार चन्द्रमा, बृहस्पति, शुक्र अर्थात् अष्ट सूर्यको पछाडि अर्थात् विपरीत राजयोग छ । राज्यबाट हैन, जनताबाट लोकप्रिय हुने शनिश्चर वक्र अर्थात् शनिश्चर पछाडि परेको समय भएकाले शासक वर्गभन्दा पनि सेवक वर्गको उत्थान र प्रगति हुने समयमा परेको छ ।
यो दिन तिथिअनुसार बिहान १०ः३४ पछि मात्र परेवा पर्ने देखिन्छ । उक्त समयमा शंखधर साख्वाः, सिद्धिवन्त जोशी साथै उक्त समयका राजाहरु मिली औंशीमा छलफल गरेर म्हपूजा गर्ने दिन अत्यन्तै राम्रो भएको निष्कर्ष निकाली परेवाको दिनमा नेपाल संवत् शुरु गरेको हुनुपर्ने ज्यातिषी कृष्णराज जोशीले बताउनुभएको छ ।
प्रतिक्रिया