नेतृत्वका कारण पार्टी कमजोर भयो : कांग्रेस नेता सिंह

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले गरेको आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउनुभयो ।

देशमा लोकतन्त्र जोगाउनका लागि पार्टीमा विधि पद्दति जोगाउन जरुरी रहेको उहाँले बताउनुभयो ।पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको बताउदै अवसर दिएर पनि काम नगर्नेका बारे सोच्नुपर्ने बताउनुभयो ।

ब्यक्तिको पछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अबस्था रहेको भन्दै पार्टी नेतृत्वका कारण १२३ बाट २३ सिटमा खुम्चिनु परेको र कांग्रेस कमजोर भएकै कारणले कम्युनिस्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताउनुभयो ।

आसन्न महाधिबेशनमा सही नेतृत्व चयन गरे मुलुक निमार्णमा लाग्नुपर्नेमा जोड दिंदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउनुभयो ।

२०४६साल सम्म जनताका लागि कांग्रेसले राम्रो कार्य गरेको भए पनि ४६ पछि सत्ताका लागि बढी नै लिप्त भएको बताउँदै अब त्यागको भावना बढाउनुपर्नेमा जोड दिनुभयो ।

भजन मण्डलले भजन गाउँदैमा नेतालाई जनताले नपत्याउने उहाँको भनाई थियो ।पार्टी समयमा महाधिवेशन गर्न नसकेर म्याद गु्जिएको औषधि खाए जस्तो अबस्थामा रहेको बताउँदै संबिधान, विधि र नियमभन्दा कांगे्रस माथि हुन्छ भनी प्रश्न गर्नुभयो ।

सरकारले कोरोना खोपको ब्यबस्थापन अझै राम्रोसँग गर्नुपर्ने बताउँदै चाडपर्वको बिचमा भैरहेको ईन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण पार्टी मिलाउन नसकेको र आफैं फसेको नेता सिंहले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता मनमोहन भट्टराई,कांग्रेस जिल्ला सभापति दुर्लभ थापा,पुर्व सभापति गणेशमान चक्रधर,महेश श्रेष्ठ,मथिनपाका कांग्रेस सभापति हरिदाश प्रजापति लगायतले कांग्रेसको बिगत जस्तै भबिष्य पनि उज्यालो रहेको बताउनुभयो ।