दुई कृति लोकापर्णसँगै अन्न पानीको शरीर सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, पनौती ।

साहित्यकार लक्ष्मण मतंछे ‘दोर्जे’का दुई साहित्यिक कृति एक कार्यक्रम बिच लोकापर्ण भएको छ ।

पनौती नगरपालिकाको सभाहलमा शनिवार आयोजित कार्यक्रममा यी दुई कृति सँगै लक्ष्मण मतंक्षे तथा सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको गीत पनि सार्वजानिक गरिएको छ । आरब प्रतिबिम्ब कविता संग्रह भाग २ तथा गुफामा १९ दिन होम आइसोलेसन सम्झना कृति लोकार्पण गरिएको हो । कार्यक्रमका ६ जना विशिष्ठ अतिथि तथा प्रमुख अतिथिले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

लक्ष्मण मतंक्षेको रचना सुरेन्द्र श्रेष्ठको संगित तथा बालकृष्ण सेवाचार्यको संगित संयोजनमा तयार भएको ‘अन्नपानीको शरीर’ बोलको गीत सार्वजानिक गरिएको हो । कवि तथा गायक लक्ष्मण मतंक्षे तथा सुरेन्द्र श्रेष्ठ ‘लसुन’ जोडीको नामले संगितको क्षेत्रमा सक्रिय रहेका छन् । मतंक्षे पनौती नगरपालिकामा कार्यरत छन् । उनकोे यस अघि आरब कविता संग्रह प्रकाशित भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका पनौती नगर प्रमुख भीम न्यौपानेले लोकार्पण कार्यक्रमको कलात्मक पानसमा बत्तिबाली उद्घाटन गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख न्यौपानेले राजनीतिक सामाजिक परिवर्तनमा साहित्य र संगीतको महत्वपूर्ण योगदान रहेको बताउँदै साहित्य संगीत रचनामा सक्रिय हुन सबैलाई अनुरोध गरेका थिए । पनौती नगरपालिकाका कर्मचारीहरु साहित्य क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै कार्यालयको जिम्मेवारी पुरा गरि अन्य समयको सक्रियता प्रशंसायोग्य रहेको बताए । ‘नगरका राम्रो कामलाई राम्रो भन्दिनुस कहिँकतै गल्ति भए सुधारका लागि सुझाव दिनुहोस । पनौतीको समेत इज्जत रहनेगरि साहित्य तथा संगितमा सक्रिय रहनुहोस नगरले सकेको सहयोग गर्छ ।’ उनको भनाई थियो ।

वरिष्ठ संगितकार सुरेश अधिकारीले प्रकाशित कृतिहरुमाथि समिक्षा गर्दै मतांक्षेको आरब प्रतिबिम्ब बनोटका हिसाबले नयाँ प्रयोग भएको बताए । जो जहाँ रहेपनि संगित, साहित्य सिर्जनामा सक्रिय रहनुपर्ने उनको भनाई थियो । पनौती नगरपालिकाका बरिष्ठ कार्यकारी अधिकृत इन्द्र प्रसाद अधिकारीले प्रकृति, संगित र बालबालिका सँग रमाउन नसक्ने मानिस जड भएको बताउँदै मेहनत र साधनाले मात्र साहित्य क्षेत्र सफल हुने बताए । कार्यालय पछिको बचेको समयमा पनि सक्रियता देखउँदै कलम चलाउनेहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काले पनौती कलाका सबै क्षेत्रले भरिपूर्ण रहेको उल्लेख गर्दै मकरमेलाका लागि नगरले उपयुक्त योजना सहितका कार्यक्रम निर्माण गरे चलचित्र संघका तर्फबाट आवश्यक सहयोग जुटाउने बताएका थिए । पनौती नगरपालिका पहिलो निर्वाचित जनप्रतिनिधि सप्तकाजी बुद्धाचार्यले संगित तथा साहित्यले भाषाको संरक्षण तथा विकासमा जोड दिनुपर्ने बताए ।

साहित्यकार दिनमान ग्रुमछ्यानले प्रकाशित दुई कृतिको बिश्लेषण गरेका थिए । आरब प्रतिबिम्बमा पनौतीको स्थानीयतालाई जोड दिएको बताउँदै स्थानीय कला संस्कृति तथा सभ्याताको चिनारीको रुपमा पुस्तक प्रकाशित भएको उनको बिचार थियो । कवि मतंक्षेले उक्त पुस्तकको नाम आफ्नै नाती आरबको नामबाट नामाकरण गरेका थिए । भने दोस्रो कृति गुफामा १९ दिन दैनिकीको रुपमा रचिएको होम आइसोलेसनको संस्मरण स्वरुप प्रकाशित भएको छ । १९ दिन सम्म संक्रमण भएको समयमै रचना गरेको कृतिले कोभिड संक्रमणको समयमा संक्रमितले भोग्ने यथार्थता प्रस्तुत गरेको उनको भनाई थियो ।

लसुन जोडीले संगितिक प्रस्तुती प्रस्तुत गरेका थिए भने कार्यक्रममा कवियीत्री रिमा के.सीले मतंक्षेको पुस्तकमा प्रकाशित कविताको अलावा आफ्नै मौलिक कविता वाचन गरेकी थिइन् । कार्यक्रम तथा प्रकाशित कृतिहरुका बारेमा लेखक लक्ष्मण मतंक्षेले प्रकाश पारेका थिए ।पनौती नगरपालिका उपमेयर गीता बञ्जारा संगितकार भूषण भोमी श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा काभ्रे कलाकार समाजका अध्यक्ष मेहन तौजले, वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, गायक संगितकार अष्टलामा,पत्रकार महासंघका प्रतिनिधि सुरज श्रेष्ठ, चलिचित्र कलाकार नारायण घिमिरे कृति प्रकाशक राधा मतंक्षे तथा स्थानीय बिद्यालयका प्रतिनिधि, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

पनौती नगरपालिकाका कृष्ण सैजुको सभापतित्वमा भएको कार्यक्रमको संचालन नरेन्द्र नगरकोटीले गरेका थिए ।