एमालेको महाधिवेशनमा नेपाललाई नबोलाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाएको छ । एमालेले महाधिवेशनमा सहभागी हुने १९ हजार ९ सय ९९ प्रतिनिधि छनोट गर्न यही कात्तिक २७ गतेको मिति तय गरेको छ । एमालेले वडा र पालिकाको अधिवेशन सम्पन्न गरेर प्रदेश कमिटी र जिल्लाको अधिवेशन नगरिकनै सिधै महाधिवेशन गर्न लागेको हो ।

१०औं महाधिवेशनमा विदेशी पाहुनालाई आमन्त्रण गरिएको एमालेले जनाएको छ । महाधिवेशनमा अन्य पार्टीका नेतालाई पनि एमालेले निम्तो पठाउने भएको छ । तर एमालेबाटै छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाललाई भने निम्तो नदिने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा देशभित्रका राजनीतिक दल तथा विभिन्न मुलुकका पार्टी नेतालाई निम्तो गरिने जानकारी दिनुभयो । उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भने निम्तो नदिने स्पष्ट पार्नुभयो । उहाँका अनुुसार एमालेसँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारूढ दल र विपक्षी दलहरू तथा आइक्याप (आईसीएपीपी) का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।

एमालेले वर्तमान सरकार गठन भएपश्चात् संवैधानिक व्यवस्था झन् कमजोर हुँदै गएको दाबी गर्दै संघीय संसद्लाई सरकारको लाचार छाया बनाइएको आरोप लगाएको छ । एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘संवैधानिक निकायहरूलाई कमजोर र अस्तव्यस्त बनाइएको छ । एमाले नेतृत्वको सरकारले गरेका विकास निर्माण र जनपक्षीय कामहरूलाई उल्ट्याएर विनियोजित बजेट कटौती गरिएको छ ।’ संसद्मा रहेका विधेयकहरूलाई फिर्ता गरेर अध्यादेशमार्फत अलोकतान्त्रिक र स्वेच्छाचारी रुपमा शासन सञ्चालन गरिरहेको भन्दै विज्ञप्तिमा भनिएको छ– ‘संविधान कार्यान्वयनसँगै विस्तारै बन्दै गएको लोकतान्त्रिक राजनीतिक स्थायित्वलाई पूरै धराशयी बनाएर मुलुकलाई पुरानै अस्थिरतातर्फ धकेलिँदै छ । वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशभन्दा अर्को कुनै विकल्प छैन ।’

महाधिवेशनले मूलतः नयाँ नेतृत्व निर्वाचित गर्ने उल्लेख गर्दै विज्ञप्तिमा निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ई–भोटिङ) को प्रयोग गरिने बताएको छ ।

महाधिवेशनको उद्घाटन नारायणी नदी किनाराको मैदानमा गरिने भएकाले मैदानलाई सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका कामहरू गर्न सम्बन्धित निकायलाई अनुरोध गरी कार्य अघि बढाइसकिएको छ । महाधिवेशनको बन्द सत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माणको काम पनि अघि बढाइने र प्रतिनिधिहरूलाई सौराहास्थित होटलहरूमा बसोबासको व्यवस्था गरिने एमालेले जनाएको छ ।

यसैबीच एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिनुभएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले चितवनमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो । कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन । अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो हामीलाई लाग्दैन ।’