चिनियाँ अनुदानको १६ लाख मात्रा खोप हस्तान्तरण

0
Shares

काठमाडौं, (नेस) ।

चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको सिनोफार्म खोपको १६ लाख मात्रा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

बुधबार नेपाल आइपुगेको उक्त खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गर्नुभएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै कोरोनाविरुद्धको थप १६ लाख मात्रा खोप अनुदानमा दिने चिनियाँ घोषणाअनुरुप उक्त खोप नेपाल आएको हो ।

गत साउन १ मा प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत यान्छीले नेपाललाई अनुदानमा थप १६ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी दिनुभएको थियो । यसअघि १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको चीनले यो समेत गरी जम्मा ३४ लाख मात्रा खोप नेपाललाई निःशुल्क उपलब्ध गराएको छ । कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत भने नेपालले चीनसँगै ५९ लाख मात्रा खोप खरिद गरेको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिनुभएको छ ।