सहारा एकेडेमी अब स्व.सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमी हुने


काठमाडौं ।

पोखराको फुटबल विकासमा क्रियाशील रहेको सहारा क्लब पोखराले सञ्चालन गर्दै आइरहेको सहारा एकेडेमीको नाम फेरिने भएको छ ।
२०५५ सालमा स्थापित सहारा क्लब पोखराले २०५८ सालमा सुरु गरेको फुटबल एकेडेमीको नाम परिवर्तन गर्ने भएको हो ।

क्लबले आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगितामा हिमश्री फुड्स प्रा. लिको उत्पादन आहा १ तथा रारा चाउचाउको मुख्य प्रायोजक रहेको थियो । सोही प्रा.लिका सञ्चालक समेत रहेका स्व.सूर्यबहादुर केसीको पुण्यतिथिको अवसर पारेर अब प्रतियोगितालाई मात्रै नभई एकेडेमीलाई समेत वार्षिक रूपमा सहयोग गर्ने गरी सम्झौता भएको छ । स्व। केसीको स्मृतिमा परिवारले आगामी १० वर्षका लागि वर्षेनी १५ लाख रुपैयाँका दरले दिने गरी सम्झौता भएको हो ।

बुधवार केसी परिवार र क्लब पदाधिकारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सोही सम्झौता अनुरूप अब एकेडेमीको नाम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राख्ने भएको क्लबका अध्यक्ष सुरज गुरुङ हरीराम ले जानकारी दिए । उनले केसी क्लबको स्थापनाकाल देखि नै जोडिँदै आएकाले पनि क्लबको अभिभावकको रूपमा सधैँ रहिरहेको बताए । उनले सम्झौताले आफूहरूलाई थप जिम्मेवारी समेत थपिएको बताए ।

यस्तै केसीका छोरा किरण केसीले बुबा आफूहरुको साथमा नभए पनि अब लामो समयसम्म पुन जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनले बुबामा एक मानिसमा हुनुपर्ने सम्पूर्ण गुण भएको बताउँदै धेरै संघ संस्थामा आबद्ध भएर व्यवसायका साथसाथै समाज सेवामा समेत उत्तिकै लागिपरेको बताए । उनले आफ्नो बुबाको विचार र सोचलाई एकेडेमीका बालकहरुमा समेत प्रदान गर्दै उज्वल भविष्य बनाउन प्ररित गराउने बताए । क्लबमा हाल १४ जिल्लाका २४ जना बालकहरू रहेका छन् ।