महाधिवेशनको माहोल

0
Shares

महाधिवेशन, सभा, सम्मेलन र बैठकहरू लोकतान्त्रिक अभ्यासका कडी हुन् । सरकार सञ्चालन होस् वा व्यवस्थापिकाले कानुन निर्माण गर्ने कार्य होस्, अथवा कुनै पनि संस्थाको नीति बनाउने कार्य नै किन नहोस्, यी सबैका लागि अन्तरक्रियात्मक गतिविधि आवश्यक हुन्छ । प्रतिनिधि र सरोकारवालाहरूले आ–आफ्नो विचार राख्न पाउनुपर्छ । त्यसैले ‘कति मिटिङ र बैठक गरेर समय फालेको’ भनेर कसैको अन्तरक्रियात्मक गतिविधिलाई होच्याउनु लोकतान्त्रिक अभ्यास नबुझ्नुसरह मानिन्छ ।

यतिबेला, दुई ठूला राजनीतिक दल महाधिवेशनमा होमिएका छन् । सत्तारूढ दल नेपाली कांग्रेस १४औं महाधिवेशन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले १०औं महाधिवेशनको तयारीमा लागेका छन् । सत्तारूढ दल नेपाली कांग्रेस महाधिवेशनका लागि जनप्रतिनिधि छनोटमा नै अल्झिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभर वडा र पालिका अधिवेशन गरेर जिल्ला अधिवेशनको तयारीमा छ । उसले महधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । नेपाली कांग्रेसभित्र भने १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन, कतिपय जिल्लामा धाँधली भएकाले पुनः अधिवेशन गर्नुपर्ने भन्दै पार्टीभित्र नै चर्को आवाज उठेको अवस्था छ । गुट उपगुटमा विभाजन भएको कांग्रेसको अधिवेशन तोकिएको समयमा नहुने हो कि भन्ने आशंका पैदा भएको छ । उता पार्टी विभाजनले कमजोर बन्दै गएको एमालेले भने यसपटक सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ । केही ठाउँबाहेक अधिकांश ठाउँमा भने एमालेले सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन खोजेको छ । पार्टीभित्रका कतिपय नेताहरूले भने पार्टी अध्यक्ष केपी ओलीले आफ्ना विरोधी हाबी भएको ठाउँमा चुनाव गराएर नेतृत्व हत्याउने प्रयास गरेको भन्दै उनको आलोचना नगरेका होइनन् तर पार्टी कमजोर भएकाले यसपटक भने नेताहरूले एकताको सन्देश दिनुपर्ने भन्दै आफ्नो अनुकूलका प्रतिनिधि नआए पनि चुप लागेर बसेको अवस्था छ । कांग्रेसभित्र भने प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको लडाइँका कारण पार्टी महाधिवेशन हुने कुराका आशंका पैदा भएको छ । पुनः नेतृत्वमा आउन देउवाले राज्यशक्तिको समेत दुरुपयोग गर्दै तल्ला तहमा आफ्नो बहुमत ल्याउने प्रयास बढाएको देखिन्छ भने वरिष्ठ नेता पौडेल समूह भने यसपटक जसरी पनि नेतृत्व आपूmहरूले लिने रणनीतिमा रहेको पाइन्छ । दलहरूबीच कायम रहेको लडाइँका कारण जनतामा भने निराशा पलाएको देखिन्छ । देश बनाउने नाममा सत्तामा पुगेका पार्टीहरू नै एक–आपसमा कलह गरेर दुनियाँ हँसाउने काम गरिरहेकाले जनतामा उनीहरूप्रतिको भरोसा क्रमशः टुट्दै गएको देखिन्छ । दुई तिहाई नजिकको सरकार बनाएको एमालेले केन्द्रीय सत्तादेखि प्रदेशको सत्तासमेत गुमाएर प्रतिपक्षमा पुगेको छ ।

पार्टी अध्यक्ष ओलीका कारण पार्टीले सत्ता मात्र गुमाएन पार्टी नै विभाजनको अवस्थामा पुगेको छ । कुनै एक नेताको सन्कीपनका कारण देशभरका कार्यकर्ता निराश हुनुपर्ने अवस्था आयो । यस समस्याको अन्त्यका लागि दुवै दलका नेतृत्वकर्ताहरूले विश्राम लिएर पार्टीलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके जनतामा देखिएको निराशा विस्तारै मत्थर हुने थियो । यसतर्फ सत्तारूढ दल र प्रतिपक्षी दल नेकपा एमालेको ध्यान जान जरुरी देखिन्छ ।