तालिवानी सर्वोच्च नेता सार्वजनिक, संगीत रोक्न गोली चलाइयो

0
Shares

काबुल, (एजेन्सी) ।

आफूलाई तालिबान बताउने अज्ञात बन्दुकधारी समूहले पूर्वी अफगानिस्तानमा विवाह भोजमा बजाइँदै गरेको संगीत बन्द गर्न अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा दुईजना मानिसको ज्यान गएको तथा अन्य १० जना घाइते भएको सरकारी अधिकारीहरूले आइतबार बताएका छन् ।

एकजना तालिवान प्रवक्ताले ती तीनजना बन्दुकधारीमध्ये दुईजनालाई गिरफ्तार गरिएको तथा तिनीहरूले इस्लामिक मुभमेन्टको तर्फबाट सो आक्रमण गरेको अस्वीकार गरेका छन् ।सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिवान सरकार रहेकाबेला संगीतमाथि प्रतिबन्ध लगाइएको थियो ।

तर, गत अगस्टमा अमेरिकी नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले अफगान भूमि छाडेपछि सत्ता कब्जा गरेको तालिवान सरकारले अझैसम्म यस्तो प्रतिबन्ध घोषणा गरेको छैन । एकजना प्रत्यक्षदर्शीका अनुसार शुक्रबार नान्गारहार प्रान्तको सुर्ख रोड जिल्लामा आयोजित सामूहिक विवाह कार्यक्रममा चार जोडीको विवाह भइरहेका बेला यो आक्रमण भएको हो ।

तिनीहरूले पहिले नै महिलाहरूले मात्र प्रयोग गर्ने क्षेत्रमा म्युजिक रिकर्ड बजाउन एकजना स्थानीय तालिवान नेतासँग अनुमति लिएका थिए । तालिवान नेता जविहुल्लाह मुजाहिदले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

यसैबीच, तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलोपटक सार्वजनिक रूपमा देखापरेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका थिए ।

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका छन् । तर, अगस्टमा तालिवान समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेयता पनि उनी सार्वजनिक रूपमा देखापरेका थिएन । यद्यपि, पटक–पटक उनको मृत्युको हल्ला पनि फैलिएको थियो ।

शनिबार उनले दारुल उलुम हकिमाह मदरसाको भ्रमण गर्ने क्रममा आफ्ना लडाकूहरूसँग कुराकानी गरेको बताइएको छ । सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिवानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकाल अवस्थामा तालिवान नेता नियुक्त गरिएको थियो ।