टोक्योको ट्रेनमा यात्रुमाथि छुरा हमला

0
Shares

टोक्यो, (एजेन्सी) ।

जापानको राजधानी टोक्योको एउटा ट्रेनमा ब्याटम्यानको जोकरको पोसाक लगाएका एक व्यक्तिले यात्रुमाथि अचानक जथाभावी चक्कु प्रहार गर्दा कम्तिमा सत्र व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । आइतबार साँझ सो ट्रेनमा सवार अधिकांश यात्रु शहरको मध्यभागमा पश्चिमेली हालोविन पर्व मनाउन जाँदै थिए ।

जापानी सञ्चारमाध्यम क्योदोका अनुसार प्रहरीले ती आक्रमणकारीलाई घटनास्थलमै पक्राउ गरेको थियो । उनको हमलामा गम्भीर घाइते भएका एक ६० वर्षीय वृद्धको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको छ ।

प्रत्यक्षदर्शीहरूले ती परिचय नखुलाइएका आक्रमणकारीले ट्रेनमा केही तरल पदार्थ छर्केर आगोसमेत लगाएको बताएका छन् । ट्विटरमा अपलोड गरिएको एउटा भिडियोमा मानिसहरू ट्रेनबाट निस्केर भागाभाग गरिरहेको र त्यासको केही सेकन्डमै त्यहाँ आगो बलेको देखिन्छ । त्यसेगरी अर्को भिडियोमा आपतकालिन रूपमा रोकिएको ट्रेनका झ्यालहरूबाट यात्रुहरू हतार हतारमा निस्किरहेका देखिन्छन् ।

एकजना प्रत्यक्षदर्शीले योमिउरी अखबारलाई भनेका छन्– ‘मैले त शुरुमा यो हालोविनको स्टन्ट भन्ठानेको थिएं । मानसिहरू भागिरहेका थिए । त्यसपछि, मैले एकजना मानिस रगत टाँसिएको लामो छुरा हातले नचाउँदै एकजना पुरुष आइरहेको देखेँ ।’
ट्विटरमै अपलोड गरिएको अर्को भिडियोमा जोकरको जस्तो प्याजी रंगको सुट र हरियो सर्ट लगाएका एक व्यक्ति खाली ट्रेनमा बसेर शान्त मुद्रामा चुरोट पिइरहेको देखिन्छ ।