सन् २०३० सम्ममा विश्वको वनफँडानी नियन्त्रित गरिने



लन्डन, (एजेन्सी) ।

स्कटल्यान्डको शहर ग्लास्गोमा भइरहेको कोप २६ जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा एक सय जनाभन्दा बढी विश्वका नेताहरूले आगामी २०३० सम्ममा वनफडानी रोक्ने तथा त्यसलाई गैरकानुनी बनाउने प्रतिबद्धता जनाउने भएका छन् । यस सम्मेलनको यो पहिलो प्रमुख सम्झौता हुनेछ ।

मंगलबार सो सम्झौतामा हस्ताक्षर गर्नेमा दिनानुदिन आफ्नो सदावहार अमेजन जंगल फँडानी समस्या भोगिरहेका मुलुक ब्राजिल पनि परेको छ । उक्त प्रतिबद्धताअनुसार सो कार्यका लागि सरकारी र निजी कोषबाट झन्डै १९ अर्ब २० करोड अमेरिकी डलर छुट्याइने भएको छ ।

वातावरण विशेषज्ञहरूले यस कदमको स्वागत गर्नुका साथै सन् २०१४ को यससम्बन्धी पुरानो सम्झौता वनफँडानी नियन्त्रण गर्न असफल भएको चेतावनी पनि दिएका छन् । रूख कटानी हुँदा तापक्रम बढाउने कार्बनडाइअक्साइडको ठूलो परिमाण सोस्ने वनजंगल पातलिने गर्दा यसले जलवायु परिवर्तनमा ठूलो भूमिका निभाउने गर्दछ ।

ग्लास्गोमा यस विश्वव्यापी बैठकको आयोजना गरिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले मंगलबार पृथ्वीको जंगलको संरक्षण र पुनस्र्थापनाका लागि यो सम्झौता अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।यदि, जलवायु परिवर्तनलाई नियन्त्रणमा ल्याउन सक्ने हो भने दुई साता लामो ग्लास्गोको बैठक सार्थक सावित हुने छ ।

प्रतिक्रिया दिनुहोस्