मन्त्रालयमा काम पाएनन् उपसचिव र अधिकृतस्तरका कर्मचारीले

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा करिब ४५ जना कर्मचारी कामविहीन बनेका छन् ।

सरकारले असोज १ गतेदेखि लागु हुने गरी आयोजना कार्यान्वयन एकाइ (डीएलपीआईयू) खारेज गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लैजाने निर्णय गरेसँगै विद्यालय पुनर्निर्माण भइरहेका जिल्लाका प्रमुख उपसचिव र अधिकृतस्तरका कर्मचारी कामविहीन भएका हुन् । २०७२ सालको भूकम्पपछि ध्वस्त र क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न सरकारले ३१ जिल्लामा आयोजना कार्यान्वयन एकाइ गठन गरेको थियो ।

मन्त्रालयले तत्काल पोस्टिङ गर्ने जानकारीअनुसार ती कर्मचारी असोज १ गतेबाट मन्त्रालयमा हाजिर भएका हुन् । करिब दुई महिना भइसक्दा पनि काम नदिइएका कारण उनीहरू कहिले मन्त्रालयको चौर त कहिले बरण्डामा बसेर दिन कटाइरहेका छन् । ती कर्मचारीले नेपाल समाचारपत्रसँगको कुराकानीमा भने– ‘अब अति भयो, तत्काल पदस्थापन गरी कर्मचारी व्यवस्थापन गरियोस् ।’

मन्त्रालयमा काम नपाएका उपसचिवको संख्या १३ र अधिकृतको संख्या १५ रहेको छ । मकवानपुरका डीएलपीआईयू प्रमुख बद्री पाठक भने चिकित्सा शिक्षा आयोगमा पदस्थापन भइसक्नुभएको छ । त्यसै गरी, अधिकृतहरू नारायण निरौला, बलराम मिश्र र अर्का एकको पनि पदस्थापन भइसकेको छ ।

केही कर्मचारीको संगठन संरचना व्यवस्थापन (ओएनएम) तयार भइरहेको जानकारी गराउँदै मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव युवराज सुवेदीले ती कर्मचारीको केही दिनमा पदस्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘केही कर्मचारीको पदस्थापना भइसकेको छ । अब केही दिनभित्र सबैको पदस्थापना गर्ने गरी तयारी थालेका छौं ।’ यसअघि मन्त्रालयका अधिकारीले पदस्थापन हुन बाँकी उपसचिव र अधिकृतलाई मन्त्री आउनासाथ पदस्थापन गरिने बताएको जिकिर गर्दै कामविहीन एक उपसचिव भन्छन्– ‘मन्त्रालयले हामीमाथि अन्याय गरेका कारण काम गर्न समस्या देखिएको छ । हामी कुरा गर्न जाँदा दशैंअघि हुन्छ भनेका थिए, भएन । मन्त्री आउनासाथ गर्ने आश्वासन दिएका थिए, त्यो पनि हुन सकेन । अनि दशैंलगत्तै तिहारअघि गर्छौं भनेका थिए, अहिलेसम्म अत्तोपत्तो छैन । यही अवस्था हो भने मंसिरसम्म पनि होला कि नहोला भन्ने चिन्तामा छौं ।’

पदस्थापन हुन नसकेका उपसचिवहरूमा द्वारिका पोखरेल, अर्जुन रायमाझी, निर्मल घिमिरे, देवकुमार बराल, गोविन्दराज सेढाईं, युक्त शर्मालगायत छन् । त्यस्तै, अधिकृतहरूमा राजेश्वर पराजुली, रामेश्वर लामिछाने, तारानाथ निरौलालगायत छन् ।

सरकारले प्राधिकरणको संरचना खारेज गरेपछि असोज १ गते प्राधिकरणको सिंहदरबारस्थित मुख्यालयमा हाजिर गरेका शिक्षाका उपसचिव र अधिकृतलाई असोज १२ बाट तालुकदार मन्त्रालयमा हाजिर गर्न पत्राचार गरेको थियो । सोही पत्रका आधारमा ती कर्मचारी मन्त्रालयमा हाजिर भएका हुन् ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने उपसचिव र अधिकृतहरूको पदस्थापन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार सो विषयमा विभिन्न चरणमा छलफल भइरहेको छ ।