प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

0
Shares

हरिहर नेपाल, विराटनगर ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख प्यासीले मंगलबार नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री राईले गठबन्धन दलहरूमध्ये नेपाली काँग्रेसबाट दुई र अन्य दलबाट एक एक जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकासमन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

नयाँ सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा नियुक्त आङ्बोबाहेक अन्य सबै नयाँ अनुहार हुन् । नेकपाको सरकार हुँदा पनि आङ्बोले सोही मन्त्रालयको जिम्मेवारीमा हुनुहुनथ्यो । यस्तै भौतिक पूर्वाधार मन्त्रालयमा नियुक्त भएका कार्की कांग्रेस संसदीय दलका उपनेता हुनुहुन्छ । उहाँ उदयपुरको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकटका मानिनुहुन्छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नियुक्त भएका केदार कार्की कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (२) बाट निर्वाचित सांसद हुनुहुन्छ ।

यस्तै सामाजिक विकास मन्त्रीमा नियुक्त यादव जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलका नेता हुनुहुन्छ । मोरङ क्षेत्र नम्बर ५ (२) बाट प्रत्यक्ष निर्वाचित यादव स्थानीयस्तरमा लोकप्रिय मानिनुहुन्छ । यस्तै संयुक्त लोकतान्त्रिक मञ्चकी एक्लो सांसद विष्णुमाया तुम्बाहाम्फे ताप्लेजुङ निवासी हुनुहुन्छ । उहाँ समानुपातिक तर्फबाट सांसद बन्नुभएको हो ।

यसैबीच प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण टुंगो लगाउने प्राथमिकतामा रहेको बताउनुभएको छ । शपथग्रहणलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले राम्रो गर्ने, नराम्रो नगर्ने र नाम राख्ने प्राथमिकतामा रहेको बताउनुभयो । ‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, काम गर्ने प्राथमिकता हो,’ उहाँले भन्नुभयो– ‘प्रदेशले नाम पाउन सकेका छैन । त्यो हामी दिन्छौं ।’

उहाँले बजेटको दायरा बढाउने पनि बताउनुभयो । वैदेशिक अनुदान, केन्द्र सरकारबाट अनुदान र राजस्व स्रोतको दायरा बढाएर बजेटको आकार बढाउने पनि उहाँले बताउनुभयो । आफूले आगामी २५–२६ गतेसम्ममा विश्वासको मत लिने पनि बताउनुभयो । विश्वासको मत लिएर गठबन्धनबीचको सहमतिमा मन्त्रीमण्डल विस्तार गर्ने पनि उहाँले बताउनुभयो ।