एमालेको बाँकी अधिवेशन कात्तिक २५ भित्र सक्न निर्देशन

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी १०औं राष्ट्रिय महाधिवेशनका लागि यही कार्तिक २५ गतेभित्र वडा र स्थानीय तहको बाँकी रहेको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीले बाढी पहिरोका कारण प्रभावित बन्न पुगेको क्षेत्रमा तत्काल वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले महाधिवेशनको मिति नजिकिएसँगै केन्द्रले यही कार्तिक २५ गतेभित्र बाँकी रहेको वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिइसकेको बताउनुभयो । उहाँका अनुसार करिब एक सय स्थानीय तह र थोरै मात्र वडाहरूको अधिवेशन सम्पन्न हुन बाँकी रहेको छ । एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ ।

देशभरबाट महाधिवेशनमा सहभागी हुने १ हजार ९ सय ९९ जना प्रतिनिधि यही कार्तिक २७ गते छनोट गर्ने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ । प्रतिनिधि छनोट गर्नुअघि अनिवार्य रूपमा वडा र पालिकाको अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको छ । एमालेले ७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय पचासभन्दा बढी स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको बताएको छ ।

महाधिवेशनको तयारीमा जुटेको एमालेको जिल्ला र प्रदेश कमिटीको अधिवेशन भने महाधिवेशनपछि मात्र हुने भएको छ । महाधिवेशनअघि नै जिल्ला र प्रदेश कमिटीको अधिवेशन हुनुपर्ने भएपछि एमालेले वडा र पालिका तहको अधिवेशन गरेर महाधिवेशन गर्न लागेको हो । सचिव तामाङका अनुसार हाल एमालेको संगठित सदस्यको संख्या ७ लाख २८ हजारभन्दा बढी रहेको छ । सोही संगठित सदस्यबाट आगामी महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनोट हुनेछन् ।

१० बुँदे कार्यान्वयन भइसक्यो : ज्ञवाली

एमालेभित्र १० बुँदे सहमतिको विषयलाई लिएर विवाद कायमै रहेको बेलामा एमालेका सचिव प्रदीप ज्ञवालीले भने १० बुँदे सहमति झण्डै सतप्रतिशत अर्थात् ९९ दशमलव ९९ प्रतिशत कार्यान्वयन भएको बताउनुभयो ।

उहाँले नेपाल समचारपत्रसँग भन्नुभयो– ‘सहमति कार्यान्वयन गर्नकै लागि गरिएको हो, पार्टीको केन्द्र, प्रदेश, जिल्ला, स्थानीय तह हुँदै वडासम्म सहमति पूर्णरूपमा कार्यान्वय भइसकेको छ ।’ उहाँले सहमति कार्यान्वयन गर्दै वडा र पालिकाको अधिवेशन सम्पन्न भएको जिकिर गर्दै अब पार्टीमा कुनै विवाद नरहेको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘पार्टी सुदृढ एकताको साथ अगाडि बढेको छ, कहीँकतै केही समस्या छ भने पनि पार्टी कमिटीको बैठक बसेर हल हुन्छ, अब हल नै हुन नसक्ने समस्या पार्टीभित्र छैन ।’

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गत आइतबार सहमति कार्यान्वयन गर्न गठित कार्यदलका संयोजक उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीलाई कार्यदलबाट राजीनामा दिएको पत्र बुझाउनुभएको थियो । उपमहासचिव घनश्याम भुसालले पनि लिखित रूपमा नै असन्तुष्टि जनाइसक्नुभएको छ । अन्तिम समयमा माधव कुमार नेपालको साथ छोडेर पार्टीमै रहेका ११ नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।