काठमाडौं, (नेस) ।
प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले राख्नुभएको सम्मानजनक बहिर्गमनको प्रस्ताव षड्यन्त्रपूर्ण रहेको आन्दोलनरत कानुन व्यवसायीको आरोप लगाएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको प्रदर्शनमा सहभागी कानुनी व्यवसायीहरूले मंगलबार यस्तो आरोप लगाएका हुन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीशले अघि सारेको सम्मानजनक बहिर्गमनको प्रस्तावमा जालझेल र षड्यन्त्र लुकेको टिप्पणी गर्दै जबरालाई एक दिन पनि पदमा राख्न नहुने धारणा राख्नुभयो ।
सम्मानजनक बहिर्गमनको नाममा अनेक प्रस्ताव आएको भन्दै उहाँले भन्नुभयो– ‘आजको निकास प्रधानन्यायाधीशको राजीनामा हो । सुधार गर्ने समय चाहियो भनेर जालझेलको शब्द प्रयोग गर्नुभएको छ ।’ उहाँले प्रधानन्यायाधीशसँग संवाद गरिरहेका न्यायाधीशहरूलाई पनि सतर्क रहन आग्रह गर्दै भन्नुभयो– ‘सतर्क रहनुहोला, बारलाई बाइपास गरेर कुनै पनि निर्णय नगर्नुहोला ।’
नेपाल बारका पूर्वमहासचिवसमेत रहेका श्रेष्ठले जबराको नेतृत्वमा न्यायापालिका स्वतन्त्र हुन नसक्ने र भ्रष्टाचार नियन्त्रण पनि नहुने टिप्पणी गर्दै न्यायालय र स्वयम् जबराको व्यक्तित्वमा थप क्षति हुन नदिन उहाँले प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलनलाई अझै कडा बनाउँदै लगिने बताउनुभयो । उहाँले बुधबारको विरोध कार्यक्रमपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिँदै भन्नुभयो– ‘त्यसपछि पनि राजीनामा आएन भने अझै चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुन सक्छ ।’
शाक्यले आफूहरूको बटमलाइन परिवर्तन नभएको जिकिर गर्दै प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकाले उहाँको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिनुपरेको बताउनुभयो । तर, प्रधानन्यायाधीश जबराले भने प्रधानन्यायाधीश हटाउने संवैधानिक प्रक्रियाबाट बाहेक सडकमा प्रदर्शन गर्दैमा राजीनामा नदिने बताउँदै आउनुभएको छ ।
प्रधानन्यायाधीश जबराले मंगलबार आफूबाहेकको ६ वटा बन्दी प्रत्यक्षीकरणको इजलास तोक्नुभएको छ ।
प्रतिक्रिया