सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसंग अन्तरक्रिया


काठमाडौं ।

नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसंग अन्तरक्रिया गरेको छ ।

 पछिल्लो समय संघ, प्रदेश एंव स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्न थालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ । महासंघमा आज भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदीय मामिला मन्त्री बडुले प्रेस स्वतन्त्रता विना कुनैपनि संस्थाको स्थायीत्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकार बालासँग छलफल गर्ने र त्यसलाई प्रेस मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, उहाँले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने पत्रकारलाई हार्दिक बधाई दिनुभयो ।  नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेस मैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधै असहमति रहने बताउनुभयो । उहाँले प्रजातान्त्रीक मुल्यमान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासंगको छलफल विना नै सरकारले कानुन निर्माण गरिरहेको बताउनुभयो । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेलले भन्नुभयो ।

नेपाल अमेरिका पत्रकार संघ ९नेजा० का अध्यक्ष विकाशराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले  नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताउनुभयो । उहाँले भौतिक रुपमा आफुहरु अमेरिकामा भएता पनि नेपालको पत्रकारिताको  विकासका लागि योगदान दिन इच्छुक रहेको बताउनुभयो ।  नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थिति बिना नै सरकारले प्रेस सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नगर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आमसञ्चार सम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकार बालासँग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउले समाचार लेखेकै अधारामा लाखौँ जरिवाना र वर्षौँ जेल हाल्न सेक्क नगरी कानुनहरू निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कानुन सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेजासंग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रशंसा गर्नुभयो । सोही कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बाउनुभयो ।

कार्यक्रमको सहजता महासंघका महासचिव रोसन पुरीले गर्नुभएको थियो । ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ ।