ढकाल दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक



फिरोज राजोपाध्याय, काठमाडौं ।

नेपाली सेनाका तेक्वान्दो निर्णायक दीपेन्द्र ढकाल दुई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिकामा सहभागी हुन आज बेलुकी पाकिस्तानतर्फ प्रस्थान गर्ने भएका छन् ।

ढकाल पहिले पाकिस्तानको इस्लामाबादमा चिफ अफ आर्मी स्टाफ (सीओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायक हुनेछन् । उक्त प्रतियोगिता यही कात्तिक १८ गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ । त्यसपछि, उनी फ्रान्सको पेरिसमा आयोजना हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक हुनेछन् । यो प्रतियोगिता यही कात्तिक २६ गतेदेखि २८ गतेसम्म चल्नेछ ।

ढकालको लागि दुवै प्रतियोगिता महत्वपूर्ण रहनेछ । जसमध्ये फ्रेन्च इकोपेन प्रतियोगिता महत्वपूर्ण रहेको छ । यसले उनको लागि आगामी पेरिसमै हुने ओलम्पिक गेम्स २०२४ मा सहभागिता हुन सहयोग पुग्ने देखिन्छ । ढकालले नेपाल समाचारपत्रलाई बताए–फ्रान्समा हुने प्रतियोगितामा विश्व तेक्वान्दोका रेफ्री प्रमुख व्यक्ति समेत आउनुहुनेछन् । यसैले यो मेरो लागि महत्वपूर्ण प्रतियोगिता हो । यी दुवै प्रतियोगिता विश्व वरियताको भएकाले पनि यसमा मैले राम्रो भूमिका निर्वाह गर्नुपर्छ । यो प्रतियोगितामा राम्रो गर्ने सकेमा मेरो अन्तर्राष्ट्रिय लाइसेन्समा अंक बढ्नेछ । यही प्रतियोगिताबाट मेरो लागि ओलम्पिकमा निर्णायक बन्ने मौका पाउने अवसर हुनेछ ।

गत असोज २० गते एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट ढकाललाई प्रतियोगिताका लागि निर्णायक मण्डलमा छनोट गरिएको थियो । उनी तेक्वान्दोतर्फ अन्तर्राष्ट्रिय निर्णायक बन्ने पहिलो नेपाली निर्णायकसमेत हुन् । साथै, उनी विभागीय टोलीबाट अन्तर्राष्ट्रिय निर्णायक बन्नेमा पनि एक मात्र नेपाली निर्णायक हुन् ।

ढकालले २०७४ सालमा चीनको उसी शहरबाट अन्तर्राष्ट्रिय रेफ्री कोर्ष गरेका थिए । २ वर्षपछि उनले चीनको वुहान शहरमा सम्पन्न सातौं विश्व सैनिक खेलकुद प्रतियोगितामा रेफ्रीको भूमिका गर्न मौका पाएका थिए । यसअघि, उनले लालीगुराँस तेक्वान्दो डोजाङबाट करियर शुरू गरेका हुन् । उनले काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि सफल निर्णायक भूमिका खेलेका थिए । यस्तै, वुहानपछि उनले जर्मनीको ह्यामबर्गमा भएको जर्मन ओपन विश्व वरियता तेक्वान्दो जी टु प्रतियोगितामा पनि निर्णायकको भूमिका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्