वैदेशिक रोजगारीमा जानेको १२ सयमै पिसीआर परीक्षण गरिने

0
Shares

विमल विष्ट, काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि खुसीको खबर ल्याइ दिनु भएको छ । मन्त्री पदको कार्यभार सम्हालेदेखि कर्मचारी, नागरिक खुसी तथा उनीहरूका हितका विषयमा उचित कदम उठान गर्दै आउनु भएका उहाँले अहिले भने युवाहरू खुसी हुने कदम चाल्नु भएको छ ।

मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पीसीआर परीक्षणको शुल्क ह्वात्तै घटाइ दिनु भएको छ ।

वैदेशिक रोजगारीमा जाने युवाहरूले अनिवार्य गर्नु पर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रूपमा बढेपछि शुक्रवार आफै अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा जानु भएका मन्त्री आलेले रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरूबाट लिइँदै आएको आरटी–पीसीआर परीक्षणको शुल्क बढी भएको र तत्काल घटान निर्देशन दिनु भएको थियो ।

मन्त्री आलेकै निर्देशन पछि अहिले उक्त आरटी–पीसीआर परीक्षणको शुल्क प्रयोगशालाले रु एक हजार २०० मात्रै लिन पाउने व्यवस्था कायम गरिएको छ । त्यस अघि उक्त परीक्षण बापत प्रयोगशालाले रु दुई हजार रुपैयाँ लिने गरेको यात्रुको आरोप थियो ।

मन्त्री आलेले आरटी–पीसीआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिनु भएसँगै अहिले प्रयोगशालालाई पनि शुल्क घटाउन निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिनुभयो । विमानस्थल परिसरभित्र स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पीसीआरका लागि नमूना सङ्कलन गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटिभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यसका लागि विमानस्थलको गोल्डन गेटसँगको आइएमएस बिल्डिङमा ८ वटा प्रयोगशालाले नमूना सङ्कलन गर्दै आएका छन् ।