सेवाग्रहीलाई आफ्नो भन्दा न्यायालयको चिन्ता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीबाट धुलिखेल अदालतमा तारेख लिन आएका एक जना सेवाग्रहीले काभ्रेपलाञ्चोक जिल्ला अदालतको प्राङ्गणमा उभिएर भन्नुभयो न्याय माग्न आउने न्याय क्षेत्र नै विवादित रहेछ । हाम्रो विवाद मिलाउलान भनेर दर्ता गरेको मुद्दाको फैसला के आउँछ भन्दा पनि अदालत भित्र शुरु भएको लडाइँमा कसले जित्ला भन्ने चिन्ता थपिन थाल्यो ।

अदालत परिसर मात्रै होइन अहिले सर्वोच्च अदालत तथा न्यायिक क्षेत्रमा भइरहेका विकृति विसङ्गतिका बारेमा सर्वसाधारणहरूले पनि मुख खोल्न थालेका छन् । अदालतको मानहानि हुन्छ, अदालतका बारेमा केही बोल्न हुँदैन भन्ने मानसिकताबाट अहिले नागरिकहरू पनि सचेत हुँदै विकृति र विसङ्गति विरुद्ध आवाज उठाउन थालेका छन् ।

तर न्यायालय भित्रको फोहोर सफा हुने भन्दा पनि एक पछि अर्को गर्दै थपिएका गलत नजिरहरूले नागरिकहरूको मात्रै होइन न्याय क्षेत्रमा काम गर्ने कर्मचारीहरूको पनि मनोबल उच्च हुन सकेको छैन ।

न्याय सेवामा आकर्षण मानेर सेवा गर्न लालायित निस्वार्थ भावना बोकेका कर्मचारीहरूले सेवाग्रहिहरुले सोधेका त्यस्ता अपत्यारिला, अविश्वासिला प्रश्नहरुको उत्तर दिन सक्छन् होला रु नागरिकहरूले न्याय क्षेत्रका बारेमा उठेका सवालका बारेमा बहस गर्न थालेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतमा हरेक दिन आउने सेवाग्रहिहरुको चासो र चिन्ता सर्वोच्चका न्यायाधीश र प्रधानन्यायाधीश बीचको लडाइँमा केन्द्रित हुन थालेको छ । महाभारत गाउँपालिकाका सेवाग्रहि रेशम मोक्तानले न्याय क्षेत्रको विवादले आम नागरिकहरूको न्याय क्षेत्र प्रतिको विश्वास कमी भएको बताउनु भयो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेको चिन्ता पनि नागरिकहरूलाई न्यायालयप्रति कसरी विश्वास दिलाउने भन्ने छ । तर नागरिकहरूले सोधेका यस्ता प्रश्नका उत्तरहरू स्वयं श्रेस्तेदार घिमिरेसँग छैन ।

‘सेवाग्रहीहरुलाई विश्वास दिलाउने गरी कार्य गरिरहेका छौँ तर न्यायालय भित्र भएको फोहोरी राजनीतिले नागरिकहरू मात्रै होइन हामी आफै पनि पीडित बन्न पुगेका छौँ’–श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘न्याय क्षेत्रको विवादले काबिल अफिसर तथा न्याय सेवामा भविष्य देख्नेहरूलाई झस्काएको छ ।’

श्रेस्तेदार घिमिरे स्वयं लोकसेवा आयोगको परीक्षामा शाखा अधिकृत हुँदा एकै पटक ७ वटा समूहमा नाम निकालेका काबिल अफिसर हुनुहुन्छ । राजश्व, लेखा, संसद् र कानुनमा नाम निकाल्न सफल घिमिरेले कानुनमा पनि न्याय सेवा रोज्नु भएको थियो ।

नागरिकहरूलाई सहज ढङ्गबाट सेवा प्रभाव गर्ने उद्देश्य बोकेका घिमिरे स्वयं भविष्यका लागि चिन्तित देखिनुहुन्छ । अदालतको विवादमा नेपालका सक्रिय राजनीतिक दलहरूले समेत औपचारिक रूपमा मुख खोलेका छैनन् ।

पछिल्लो समय कानुन विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या तपिँदै गएको अवस्थामा न्याय सेवाको विवाद, कानुन ब्यवसायीहरुको कुटाकुट, मुद्दाहरूको किनबेच, राजनीतिक स्वार्थ अनुकूलको फैसला, न्यायाधिशहरुले शुरु गरेको ट्रेड युनियन अधिकार जस्ता विषयले आम नागरिकहरूलाई न्याय प्रति विश्वास धमिलो हुँदै गएको एक कानुन व्यवसायीले बताउनु भयो ।