डाँडापारी जोड्ने सडक ८ महिनादेखि अवरुद्ध

 निर्माण व्यवसायीको आलटाल, गाउँपालिकाको प्रयास निरर्थक 

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे।

डाँडापारीका नागरिकहरूको सवारी साधन चढेर गन्तव्य पुग्ने सपना निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तुसारापात हुन थालेको छ । २०७७ असोज २० गते भव्य तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुयाँलले तिन खुट्टेमा शुभारम्भ गर्नु भएको मंगलबाटर–चार किल्ला–तिनखुट्टे–बनखु सडक ८ महिना देखि निरन्तर अवरुद्ध छ ।

‘हामीले पटक पटक निर्माण व्यवसायी, जिल्ला प्रशासन, सडक हेर्ने निकाय पूर्वाधार कार्यालयलाई मौखिक र लिखित जानकारी गरायौँ’–महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले भन्नुभयो–‘पटक पटकको अनुरोध र ताकेता निरर्थक भएको छ । सडक फराकिलो बनाउँदै कालोपत्रे सम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण ८ महिना देखि सडक अवरुद्ध हुँदा नागरिकहरूले सास्ती खेप्नु परेको छ ।’

गाउँपालिकाले श्रेष्ठ सक्षम जेभी कम्पनीलाई २०७८ जेठ २३ गते र कार्तिक १५ गते लिखित पत्र नै लेखेर सडक खुलाई नागरिकहरूको असहजतालाई सहज गरिदिन अनुरोध गरेको थियो साथै समयमै निर्माण कार्य सम्पन्न गरी विकास रकम फ्रिज हुन नदिन अनुरोध गरेको थियो । सोही ब्यहोराको पत्र गाउँपालिकाले प्रशासन र पूर्वाधार कार्यालयलाई समेत बुझाएको अध्यक्ष जिम्वाले बताउनु भयो ।

सडक सम्पर्क नै नभएर विकट मानिँदै आएको महाभारत गाउँपालिकाको तिनखुट्टे देबीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ५० करोड रकम विनियोजन भएको थियो । ४९ करोड मध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपैयाँ खर्च गर्ने गरी २०७९ असार ३० गते भित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो । सोही सडकको शिलान्यास २०७७ असोज २० गरिएको थियो ।

महाभारत गाउँपालिकाले विकटतालाई सुगमतामा परिणत गर्न सडक सञ्जालको प्रमुख योजनाका लागि बागमती प्रदेश सरकारसँग पटक पटक अनुरोध गरेको थियो । बागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिगंथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चार किल्ला तिनखुट्टे देवीटार घर्तिछाप गोकुले सडक निर्माणका लागि बहुबर्षिय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो ।

उक्त रकमबाट आवश्यक इस्टमेट अनुसार बोलपत्र आव्हान भए सँगै निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । कन्टिजेन्सी समेत ४० करोड रकम महाभारत गाउँपालिकाको तिनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ ।

‘महाभारतका नागरिकहरूको सडक सञ्जाल जोड्ने र नियमित रूपमा आवतजावत गर्ने सपना पुरा हुने भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले भन्नुभयो–‘पक्की सडक निर्माण भए पछि महाभारत क्षेत्रको विकास र समृद्धि हासिलमा थप मद्दत पुग्नेछ ।’ तर निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न नगर्दा बजेट फ्रिज हुने र महाभारतबासीहरुको सपनामा तुषारापत हुने अध्यक्ष जिम्वाले बताउनु भयो ।

अहिले उक्त सडकको विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण नियमित संचालन भएको सडक पनि बन्द छ । सडकको शिलान्यास गर्दै तत्कालीन मन्त्री रामेश्वर फुयाँलले तिन खुट्टेमा नियमित सडक संचालनका लागि पक्की पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

महाभारत पुग्ने विभिन्न सडकहरू निर्माण भए पनि बर्सातको समयमा बन्द हुँदै आएका छन् । ‘उक्त सडक निर्माण सम्पन्न हुँदा हिउँद र बर्सात १२ महिना नै सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’–अध्यक्ष कान्छालाल जिम्वाले भन्नुभयो–‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकहरूमा आशाको सञ्चार जगाएको छ ।’

तिनखुट्टे देबीटार सडक खण्डमा सडक स्तरोन्नति अन्तर्गत नाली निर्माण, रिटेनिङ्ग वाल, ग्याविङ्ग वाल, कजवे, कल्भर्ट लगायतका संरचना सँगै ३० एमएमको कालोपत्रे गरिनेछ । पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्की पुल निर्माणका लागि थप रकम बागमती प्रदेश सरकारको तर्फबाट उपलब्ध हुने निश्चित भई प्रक्रिया अघि बढेको छ ।

सोही अवसरमा महाभारत पुग्ने पिन्थली रजवास तिनखुट्टे देविटार घर्तिछाप गोकुले सडक आयोजनाको बाँकी सडक कालोपत्रे गर्न, सिपाली बुढाखानी बनखु सडकको स्तरोन्नतीका लागि बजेट व्यवस्था गर्न, ताराखसे रज्जेडँडा गोकुले सडक आयोजना, राङचा वनखु घर्तिछाप गोकुले ताल्ढुंङ्गा मिल्चे सडक स्तरोन्नति गर्न, पार्वती खोला, खानी खोला र तिनखुट्टै खोला पुल निर्माण गर्न र वनखुखोला पुल, देविटार निर्माणको लागि बजेट व्यवस्थापन गर्न अध्यक्ष जिम्वाले मन्त्री फुयाँललाई लिखित माग पत्र पेश गर्नु भएको थियो ।

उक्त सडकको दोश्रो खण्डमा कालोपत्रेको कार्य शुरु गरिने छ भने पहिलो खण्डमा १ करोड २० लाख रकम विनियोजन भएको छ । पहिलो खण्डको भूमिचुलीसम्म सडक स्तरोन्नतीका लागि १ करोड खर्च हुने छ भने भुमिचुलीबाट बुढखानी तिन खुट्टेसम्म २० लाख रकम खर्च हुनेछ । पिन्थली देखि भूमि चुलीसम्मका नागरिकहरूका लागि पनि सडक कालोपत्रे गर्न आवाज उठिरहेको छ ।