सिंहदरबार पुनर्निर्माण पुसभित्र सम्पन्न हुने


मधुसूदन रायमाझी, काठमाडौं । 

देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रबलीकरण विधिबाट पुनर्निर्माण गरिएको हो । भूकम्पले क्षति पु¥याएको सिंहदरबारको तीनवटा खण्ड यसअघि पुनर्निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने पश्चिम खण्डको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले राष्ट्रिय महत्वका रूपमा रहेका ऐतिहासिक भवनको मौलिकता बचाउँदै पुरानै निर्माण सामग्री प्रयोग गरेर प्रबलीकरणमार्फत पुरानै स्वरूपमा पुनर्निर्माण गरेको हो । भूकम्पले क्षति पु-याएका ऐतिहासिक भवनहरुलाई प्राधिकरणले आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी हाल पुनर्निर्माण भइरहेको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले प्रबलीकरणमार्फत ऐतिहासिक भवनहरुको वास्तुकला, सौन्दर्य र मौलिकतालाई कायमै राखिएको बताउनुभयो । उहाँका अनुसार नेपालमा राणाकालीन भवनको विशिष्ट वास्तुशैली र पुरातात्विक महत्वका सम्पदालाई संरक्षण गर्ने गरी काम भइरहेको छ ।भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरिएको बताउँदै विश्वकर्माले आगामी चैतसम्म सम्पन्न हुने गरी काम अगाडि बढाइएको बताउनुभयो । भवनलाई भूकम्प प्रतिरोधी बनाउन भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुत रूपमा कसेर निर्माण गरिएको छ ।

पर्याप्त अध्ययनअनुसन्धान गरी झन्डै अस्तित्व नै लोप हुन लागेका ऐतिहासिक भवनलाई पुरानै स्वरूपमा उठाउन सफल भएको दाबी गर्दै उपनिर्देशक विश्वकर्माले बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै निर्माणको काम अघि बढाइएको बताउनुभयो ।विसं २०७६ असोज २७ बाट शुरु भएको पश्चिमी खण्डमा स्ट्रक्चरको काम सपन्न भएर फिनिसिङको काम अगाडि बढेको छ । भ्याटबाहेक ४१ करोड ७९ लाख रुपियाँमा निर्माणाधीन सिंहदरबारको प्रबलीकरणको काम समयसीमाभित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका साइट इन्चार्ज सूर्य सुवेदीले बताउनुभयो । उहाँले हाल १ सयभन्दा बढी कामदारहरू कार्यरत रहेको बताउँदै दुई सिफ्टमा काम गराएर भए पनि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

सरकारले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रबलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश ऐतिहासिक भवन निर्माण गरेर दिएको छ । विसं १९६० मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोपेली शैलीमा सिंहदरबारको निर्माण गराउनुभएको थियो । विसं २०३० मा आगलागी हुँदा दरबारको पश्चिमी मोहडाबाहेक उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो ।

आगलागीबाट नष्ट भएका तीनवटा खण्डको विसं २०३७ मा पुरानै शैलीमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी भूकम्पीय जोखिम धान्न सक्ने गरी पुनर्निर्माण गरिएको थियो । तर, २०७२ मा आएको विनाशकारी भूकम्पले यस भवनलाई पनि क्षति पु¥यायो । भूकम्पका कारण क्षति पुगेको उत्तर, पूर्व र दक्षिण खण्डको प्रबलीकरणमार्फत पुनर्निर्माण २०७७ फागुन ३ गते सम्पन्न भएको थियो । भूकम्पका कारण हटाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सोही भवनबाटै सञ्चालन भइरहेको छ ।