संयोजकबाट रावलले दिए लिखित राजीनामा

एमालेमा १० बुँदेको लफडा


नेपाल समाचारपत्र, काठमाडौंं  । 

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले आइतबार पार्टी कार्यालयमा अध्यक्ष केपी ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका संयोजकको पदबाट राजीनामा बुझाउनुभएको छ ।

पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयन गर्न स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिएको भन्दै उपाध्यक्ष रावलले राजीनामा बुझाउनुभएको हो ।१० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद जारी रहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति माधव नेपाललाई पार्टीमा राख्नका लागि मात्र गरिएको अभिव्यक्ति दिनुभएपछि उपाध्यक्ष रावलले स्थायी कमिटी बैठकमा उक्त अभिव्यक्तिको प्रतिवाद गर्नुभएको थियो ।

त्यसको कुनै सुनुवाइ नभएपछि उहाँले त्यतिबेलै मौखिकरूपमा १० बुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदलका संयोजकको पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । तर, लिखितरूपमा भने उहाँले आइतबार पार्टी अध्यक्षलाई नै राजीनामा बुझाउनुभएको हो ।
१० बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका नेताहरूलाई अध्यक्ष ओलीको अभिव्यक्तिले सशंकित बनाएको छ । १० बुँदे सहमतिमार्फत एमालेले २०७५ जेठ २ अघिकै सांगठानिक संरचनालाई ब्युताउने निर्णय गरे पनि उक्त सहमति कार्यान्वयन नभएकोमा माधव नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरूले आपत्ति जनाएका छन् । नेपाल पक्षमा जानबाट रोक्नको लागि अध्यक्ष ओलीले ११ जना नेतासँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

विवादकै बीच एमालेले विधान राष्ट्रिय सम्मेलन सम्पन्न गरेर आगामी मंसिर दोस्रो साता हुने महाधिवेशनमा जुटेको छ । वडा अधिवेशन र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने तयारीमा रहेको एमालेभित्र १० बुँदे कार्यान्वयनको विषयलाई लिएर केन्द्र, प्रदेश, स्थानीय तह हुँदै वडा कमिटिसम्म पुगेको छ ।अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरूले प्रतिवाद गर्दै आए तापनि नेपाल समूह छाडेर पार्टीमै रहेका अन्य नेताहरूले भने खुलेर प्रतिवाद गरेका छैनन् ।

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले १० बुँदे सहमति कार्यान्वयन भइसकेको र अब पार्टी त्यसैमा अल्झिएर नबस्ने बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘विशेष परिस्थितिमा १० बुँदे सहमति गरिएको हो, सहमति कार्यान्वयन पनि भइसकेको छ । वडा र पालिका अधिवशेन भइसकेको अवस्थामा अब १० बुँदे सहमतिमै अल्झिएर बस्ने अवस्था छैन ।’ उहाँले आगामी मंसिरमा हुने महाधिवेशनले सबै विषयको टुंगो लगाउने बताउँदै पार्टीको नीति र विचारलाई आत्मसात् गरेर सबै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।