प्रदर्शनमा उत्रिए कानुन व्यवसायी


नेपाल समाचारपत्र, काठमाडौं । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म संघर्ष गर्ने उद्घोष गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुनी व्यवसायीहरू आइतबारदेखि प्रदर्शनमा उत्रिएका छन् ।

कानुनी व्यवसायीहरूको छाता संगठन बार नै आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि थप दबाब पर्दै गएको छ । चौैतर्फी दबाब परे पनि राजीनामा नदिने अडान लिँदै आउनुभएका प्रधानन्यायाधीश जबराले आन्दोलनपछि पनि राजीनामा दिन ढिलाइ गरेमा थप संघर्षका कार्यक्रम ल्याउने बारले जनाएको छ ।कानुनी व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा घेराका बीच बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । बुधबारसम्म जारी रहने प्रदर्शनमा पूर्वसभामुखसमेत रहेका वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, कृष्णप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।

विरोध प्रदर्शन रहरले नभई बाध्यताले गर्नुपरेको भन्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूले आफूहरूको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन गलत प्रवृत्ति सच्याउने कोशिसका रूपमा रहेको व्याख्या गर्दै भन्नुभयो– ‘अहिलेको प्रदर्शनपछि पनि प्रधानन्यायाधीशको राजीनामा नआएमा न्यायपालिका शुद्धीकरणका लागि संविधान संशोधनसम्मको माग अघि सार्नेछौं ।’ उहाँले हाल संविधानमा रहेको न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्थाले न्यायालयमा विकृति देखिएको बताउनुभयो ।सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि संविधान संशोधनसम्मको आन्दोलन अघि बढाउने बताउनुभएको छ । आफूहरूले कोही व्यक्तिविरुद्ध नभई प्रवृत्तिका विरुद्ध आन्दोलन गरेको भन्दै शाक्यले यस्तो प्रवृत्ति देखाउने न्यायालयका हरेक व्यक्तिविरुद्ध आन्दोलन चर्किन सक्ने चेतावनी दिनुभयो ।

वरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरूको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताउनुभयो । एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य रहेको बताउनुभयो । आफूहरूले अहिले विनम्रतापूर्वक राजीनामा माग गरेको प्रस्ट पार्दै उहाँले अहिलेसम्मको भ्रष्टाचार, बेथिति, अक्षमताको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताउनुभयो । न्यायालय भनेको पशुपतिनाथ जस्तै पवित्र संस्था रहेको बताउँदै उहाँले भन्नुभयो– ‘न्यायालय पशुपतिनाथ जस्तै हो । त्यो भित्रको तपाईं प्रधानन्यायाधीश मूल भट्ट हो ।

मूल भट्टले पूजा गर्नुपर्ने जुन विधि, प्रक्रिया हो, त्योअनुसार जसरी पशुपतिनाथको पूजा अर्चना गरिन्छ,तपाई प्रधानन्यायाधीशले त्यसरी न्यायालयको पूजा गर्नुभएको छैन । त्यस कारण तपाईले पदबाट राजीनामा दिनुपर्छ भनेर भनेका छौं ।’प्रधानन्यायाधीश जबराले न्यायालयमा विद्यमान दूषित प्रक्रियालाई बन्द गर्न नसकेको र सधैंभरि त्यसलाई टार्ने हिसाबबाट अघि बढेको वरिष्ठ अधिवक्ता थापाको आरोप छ । उहाँले भन्नुभयो– ‘इजलासमा म बस्दिनँ भनेर प्रधानन्यायाधीशले घोषणा गरेको मुद्दासम्म सुनुवाइमा राख्न सक्दैनन् भने यी प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनुपर्दैन ।’

प्रधानन्यायाधीशद्वारा सम्मानजनक निकासको प्रस्ताव

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रेकै दिन आइतबार प्रधानन्यायाधीशले आफ्नो सम्मानजनक निकासको प्रस्ताव अघि सार्नुभएको छ । तर, उहाँले कस्तो सम्मानजनक निकास खोज्नुभएको हो भन्ने खुलाउनुभएको छैन ।

न्यायाधीश डा. मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीशले उक्त प्रस्ताव अघि सार्नुभएको हो । न्यायाधीश डा. शर्माले असन्तुष्ट न्यायाधीशहरूको भेलामा प्रधानन्यायाधीशको प्रस्ताव सुनाउनुभएपछि भेलाले उहाँसहित तीन जना न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशसँग वार्ता गर्न पठाएको थियो ।

छलफलमा सहभागी एक न्यायाधीशले प्रधानन्यायाधीहको मौखिक प्रस्ताव आएपछि तत्काल प्रतिक्रिया दिनुभन्दा एकपटक उहाँको कुरा पनि सुनौं भनेर तीन जनालाई वार्तामा पठाइएको बताए । उनले प्रधानन्यायाधीश र तीन न्यायाधीशबीच भएको वार्तामा के भयो भन्नेबारे सोमबार छलफल हुने बताए ।छलफलमै सहभागी अर्का न्यायाधीशले भने बारको आन्दोलनलाई मत्थर पार्न र आन्दोलन असफल बनाउन प्रधानन्यायाधीशले चलाखी गरेको टिप्पणी गरे ।