तीन दलका उपनेता लिएर पाण्डे बने मुख्यमन्त्री


रोशन पराजुली, हेटौंडा ।

नयाँ राजनीतिक दलका रूपमा निर्वाचन आयोगबाट मान्यता पाएको ६५ दिनमा नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएको छ । समाजवादीको यो पहिलो प्रदेश सत्तारोहण हो ।

७१ दिन प्रदेश सरकारको जिम्मेवारी निर्वाह गरेकी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई बहिगर्मन गर्दै नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे बिहीबार वागमती प्रदेशका तेस्रो मुख्यमन्त्री बन्नुभएको हो । चन्द्रागिरि हिल्समा नेकपा (एकीकृत समाजवादी) स्थापनाको बैठकले शुरु गरेको एमाले विभाजनको सिलसिला अन्ततः शाक्यलाई विस्थापित गरेर लयमा फर्किएको हो ।

नेकपा एमालेको राजनीतिमा लामो समय बिताएका धादिङका नेता पाण्डेले प्रदेशको सत्ता सम्हाल्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै शपथग्रहण गराउनुभएको छ । पाण्डेले माधव नेपालको बलियो खम्बा बन्दै नेकपा (एकीकृत समाजवादी) गठनसम्मको यात्रामा अग्रमोर्चामा खटिएका कारण मुख्यमन्त्रीको ‘उपहार’ पाउनुभएको छ ।

२०४८ सालयता निरन्तर सांसदका रूपमा देखिनुभएका पाण्डे नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचनमा पाण्डे एमालेबाट धादिङ क्षेत्र नम्बर–१ (क) मा निर्वाचित हुनुभएको थियो । उहाँले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ । ‘भिजनरी’ नेताको परिचय बनाउनुभएका पाण्डे संसदीय फाँटमा प्रभावशाली नेता मानिनुहुन्छ ।

२०१३ जेठ २९ गते धादिङको गजुरीमा जन्मिनुभएका उहाँ जेल बस्ने क्रममा २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटी सदस्य हुनुभएको थियो । त्यति बेला उहाँ ४२ दिन जेल बस्नुभएको थियो ।

मुख्यमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ । वागमती प्रदेश सरकारमा कृष्णप्रसाद खनाल आन्तरिक मामिला तथा कानुन, कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकासमन्त्री नियुक्त गरी मन्त्रालयको जिम्मा लगाइएको छ ।

खनाल नेकपा (एकीकृत समाजवादी) बाट, भँडेल नेपाली कांग्रेसबाट र मोक्तान नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको हो । यी मन्त्रीहरु आफ्नो पार्टीको संसदीय दलको उपनेता हुनुहुन्छ । तिहारअघि नै ‘विश्वासको मत’ लिएर काममा धमाधम लाग्ने गरी सत्ताधारी दल नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी तयार रहेको नेताहरुले बताएका छन् । बुधबार मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि गठबन्धनले ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गरेको थियो ।

भदौ ३ गते सामाजिक विकासमन्त्री नियुक्त खनाल तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शाक्यले मन्त्री नियुक्त गर्दा हौसिएको एमाले खनाल अचानक चन्द्रागिरि बैठकमा पुगेर त्यहाँबाट सोझै निर्वाचन आयोगमा उपस्थिति जनाउँदै नेकपा (एकीकृत समाजवादी) तर्फ सनाखत गरेपछि झस्किएको थियो । उनै खनाल बिहीबार मन्त्रीमा दोहोरिनुभएको छ । चितवनबाट निर्वाचित सांसद खनाल मन्त्री नियुक्त भए पनि केही दिनमै राजीनामा दिएर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको थियो ।

माओवादीका उपनेता मोक्तान २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत प्रदेशसभामा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ ९क० मा वाम गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो । २०३६ सालमा जन्मिएकी मोक्तान २०५० सालबाट माओवादी रोज्दै राजनीतिमा होमिनुभएको थियो । सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनसमेत बिताएकी मोक्तान बिभिन्न पद हुँदै २०६२ मा केन्द्रीय सदस्य बन्नुभएको थियो । २०६३ मा उहाँ अन्तरिम विधायिकाको जिम्मेवारीमा रहनुभएको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र–१ प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भँडेल विजयी हुनुभएको थियो । हाल १ सय ९ सांसद रहेको प्रदेशसभामा उहाँ विजयी भएपछि कांग्रेसले आफ्नो संख्यात्मक उपस्थिति बढाएर २२ पुर्‍याएको छ ।

वागमतीमा नेकपा माओवादी केन्द्र दोस्रोपटक सरकारमा गएको छ । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी माओवादीको भागमा परेको थियो ।

कांग्रेस भने पहिलोपटक वागमती प्रदेशको सरकारमा गएको छ । प्रदेश सरकार गठनको ४४ महिना २१ दिनपछि नेपाली कांग्रेस प्रदेशको सत्तामा पुगेको हो । कांग्रेसले विपक्षी दलको भूमिकामा ३ वर्ष ८ महिना २१ दिन बितायो ।

तत्कालीन मुख्यमन्त्री पौडेलले राजीनामा दिएर पार्टी विभाजनको असर न्यूनीकरणको प्रयत्न गर्नुभएको थियो । उहाँले एमाले संसदीय दलको नेतामा शाक्यलाई प्रस्ताव मात्र गर्नुभएन, सर्वसम्मत चयनसमेत गराउनुभएको थियो । संसद्मा ५६ सिट रहेको एमाले विभाजन भएर १३ सांसदले नेकपा ९एस० रोजेसँगै एमाले ४३ सिटसहित प्रमुख विपक्षी दल भएको हो ।