नेपालको जलवायु कूटनीति प्रभावकारी नभएको गुनासो


काठमाडौँ ।

संयुक्त अधिराज्यको ग्लास्गो नगरमा यही कात्तिक १४ गतेदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) का सन्दर्भमा ‘नेपालको जलवायु कूटनीतिः महत्वपूर्ण मुद्दा र अगाडिको बाटो’ विषयमा राष्ट्रिय कार्यशाला आयोजना भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यशालामा राष्ट्रियसभा सदस्य विमला पौडेलले नेपालको जलवायु कूटनीति प्रभावकारी नभएको गुनासो गर्दै कूटनीतिक उपकरण उपयोग गर्न सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तन विश्वव्यापीरूपमा गम्भीर समस्या बनेको, धनी र विकसित देशको तुलनामा गरिब र विकासोन्मुख देशहरू त्यसबाट बढी प्रभावित भएका बताउँदै उहाँले हरितगृह ग्यासको कूल विश्वव्यापी उत्सर्जनमा नगण्य योगदान भए पनि नेपाल जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको उच्च जोखिममा रहेकाले समयमै सचेत भएर त्यसका प्रभाव घटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्छ भन्नुभयो ।

पूर्वमन्त्री गणेश साहले अन्तर्राष्ट्रिय जलवायु वित्तमा प्रत्यक्ष पहुँच स्थापित गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रका संस्थाहरूलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक असर परेको र आगामी दिनमा ती प्रभाव अझ बढ्ने भएकाले समयमै सचेत हुन जरुरी भएको बताउनुभयो ।

पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले गरिबी, अशिक्षा, सामाजिक असमानता र जीविकोपार्जनका लागि प्राकृतिक स्रोतमा समुदायको उच्च निर्भरताले नेपाललाई जलवायु परिवर्तनको प्रभावप्रति थप संवेदनशील बनाएको बताउँदै जलवायु परिवर्तनको विषयमा बाह्य विश्वसँग बहस, छलफल र सम्झौता गर्न राजनीतिक तहभन्दा कूटनीतिक माध्यम प्रभावकारी हुने भएकाले सक्रिय कूटनीति अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै सन् २०३० सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यका साथ अघि बढेको नेपालले जलवायु परिवर्तन र विकासका आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।

कार्यशालामा जलवायु परिवर्तन तथा त्यसका सामाजिक आर्थिक प्रभाव तत्काल घटाउनुपर्ने आवश्यकता, कोप–२६ का साथै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका जोखिमबारे नेपालले उठाउनु पर्ने विषय, जलवायु परिवर्तनका प्रभाव सामना गर्न व्यावहारिक दृष्टिकोण, जलवायु परिवर्तन अत्यावश्यक कूटनीतिक मुद्दा, विश्वव्यापी जलवायु विज्ञान र नीति, समस्या, समाधानका विश्वव्यापी सिद्धान्त, क्षेत्रीय र वैश्विक समाधान, वार्ता रणनीति र कूटनीति, नेपालको वार्ता रणनीतिबारे सम्बन्धित क्षेत्रका जानकारहरूले धारणा व्यक्त गर्नुभएको थियो ।