बेमौसमी वर्षाले सुर्तीबालीमा ठूलो क्षति

0
Shares

कृष्णउदास खनाल, वीरगञ्ज ।

बेमौसमी वर्षाले पर्साको ठोरीमा तोरी छर्ने र सुर्ती खेती गर्ने किसानलाई प्रभावित बनाएको छ । नगदेबालीका रूपमा बर्सेनी तोरी र सुर्ती खेती गर्ने त्यहाँका किसानलाई बेमौसमी वर्षाको कारण माटोमा चिस्यान रहेकाले खेती लगाउन ढिलाइ भएको छ ।

गत असोजको दोस्रो सातादेखि सुर्ती रोप्न शुरू गरेका किसानको सुर्ती बालीमा पानीले क्षति पु¥याएको छ । वर्षा हुनुअघि सुर्ती रोपेका अधिकांश किसानको ३० देखि ४० प्रतिशत सुर्तीबालीमा क्षति पुगेको किसानहरू बताउँछन् ।
गत असोज दोस्रो सातामा सुर्ती रोपेका ठोरी–४, शान्तिटोलका तोकबहादुर गोलेले २६ कट्ठामा लगाएको सुर्ती बालीमध्ये करिब १० कट्ठाभन्दा धेरै सुर्ती बाली मरेको बताउनुभयो । यस्तै, सोही वडाका अर्का किसान ठूलोकान्छा पाख्रिनले करिब ८ कट्ठामा लगाएको सुर्तीको बिरुवा पानीका कारण आधाभन्दा धेरै कुहिएको बताउनुभयो ।

यता, दशैं मनाएर सुर्ती रोप्ने तयारीमा रहेका किसानलाई पनि पानीको प्रभाव परेको छ । सुर्ती लगाउन खनजोत गरेर ठिक्क पारेको खेतमा पानी जमेका कारण चिस्यान अत्यधिक भएको छ । बलौटे खेत भएका किसानले सुर्ती रोप्न थाले पनि चिम्ट्याइलो माटो भएका किसानलाई भने खेत जोत्न नै समस्या परेको छ ।

खेतमा अझै चिस्यान रहेकाले जोत्न समस्या परेको किसानहरूको भनाइ छ । एकातिर किसानहरूलाई अघिल्लोपटक जोतेर ठिक्क पारेको खेत फेरि जोत्नुपर्ने भएपछि खर्च बढेको छ अर्कोतिर सुर्ती रोप्न ढिलाइ हुँदा उत्पादन घट्ने चिन्ता पनि बढेको छ ।
ठोरीमा एक दशकभन्दा लामो समयदेखि नगदे बालीको रूपमा सुर्ती खेती हुँदै आएको छ । अन्य बालीको तुलनामा राम्रो मुनाफा पाइने भएकाले यहाँको अधिकांश किसानको रोजाइमा सुर्ती खेती परेको छ ।

यस वर्ष ठोरीको सबैभन्दा धेरै सुर्ती खेती हुने क्षेत्र वडा ३ र ४ मा मात्र ३५० हेक्टर क्षेत्रफलमा सुर्ती खेती गर्ने लक्ष्य राखिएको सूर्य नेपाल प्रालिका तर्फबाट फिल्डमा खटिएका कृषि प्राविधिक दीपक पण्डितले जानकारी दिनुभयो ।

यद्यपि, छठ पर्व पछि मात्र कति क्षेत्रफलमा खेती भएको हो भन्ने बारे तथ्यांक यकिन गरिने उहाँको भनाइ छ । उहाँका अनुसार वर्षाले खेतमा अत्यधिक चिस्यान हुँदा किसानलाई सुर्ती रोप्न ढिलाइ भइरहेको भए पनि कात्तिक दोस्रो हप्तासम्म रोप्न सकिने प्राविधिक पण्डितले बताउनुभयो ।

त्यस क्षेत्रको अर्को प्रमुख नगदेबाली तोरी खेतीमा पनि बेमौसमी वर्षाको प्रभाव परेको छ । तोरी छर्नुपर्ने खेतमा अत्यधिक चिस्यान रहेकाले तोरीको बिउ कुहिने डरले किसानले तोरी छर्न सकेका छैनन् । सामान्यतया दशैं बित्नेबित्तिकै तोरी छर्ने किसानलाई पानीले समस्यामा पारेको ठोरी–४ का किसान काशीनाथ नेपालले बताउनुभयो ।

उहाँका अनुसार तोरी छर्न अझै एक साता कुर्नुपर्ने अवस्था छ । ठोरीमा विशेषगरी वडा ३, ४ र ५ मा सबैभन्दा धेरै तोरी खेती हुने गरेको छ ।