वर्षाले इलामको ४० प्रतिशत धानबालीमा क्षति

0
Shares

गणेश घिमिरे, इलाम ।

गएको आइतबार रातिदेखि बुधबार बिहानसम्म परेको अविरल वर्षाका कारण इलाममा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । बाली भित्रयाउन लागेको धानबालीमा बेमौसमी झरी पर्दा ठूलो क्षति पुगेको हो ।

दशैँको उमंगमा रमाइरहेका बेला तीन दिनसम्म परेको मुसलधारे वर्षाले धानबाली एकैछिनमा सखाप पारेपछि क्षणभरको खुसीलाई आँशुमा परिणत गरिदिएको छ । जिल्लाका अधिकांश पालिकाका किसानले दशैँको टीका लगाएर धान काट्न सुरसार कसेका थिए ।

यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा भएको थियो । धानको बाला पनि राम्ररी लागेको थियो, तर अहिले घरमा भित्र्याउन लाग्दा लाग्दा पानी परेर ठूलो क्षति भएको माई नगरपालिका स्थित दानाबारीका किसान प्रेम राईले बताउनुभयो ।

लगातार परिरहेको पानीको झरीले जिल्लाका सबै स्थानका किसानले लगाएको धानबालीमा ठूलो क्षति पु¥याएको हो । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान खेतमा पानी भरिएका कारण काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

वर्षाले देशभरकै किसानले लगाएको धानबालीसहित अन्य कृषि क्षेत्रमा ठूलो असर पु¥याएको छ । इलाममा कृषि ज्ञान केन्द्रले धानसहित कृषि बालीमा वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गर्ने काम गरिरहेकोे छ ।
कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाका अनुसार जिल्लाभर किसानले लगाएको धानबालीमध्ये प्रारम्भिक विवरणअनुसार ३५ देखि ४० प्रतिशत धानबालीमा पूर्ण क्षति पुगेको छ ।

उहाँका अनुसार जिल्लाको माईनगरपालिका, चुलाचुली र माईजोगमाई गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । केन्द्रले वडागतरूपमा तथ्यांक संकलन गरिरहेको छ । एकाएक मौसममा बदली भई आइतबार बेलुकीदेखि नै निरन्तर रूपमा वर्षा र हावाहुरी चल्दा कार्तिक महिनाको पहिलो हप्तामा पाक्ने धानमा बढी क्षति पुगेको ज्ञान केन्द्रले जनाएको छ । जसकारण जिल्लामा यस वर्ष धानको उत्पादनमा धेरै गिरावट आउने पक्का भएको छ । इलाममा कुल खेतीयोग्य जमिन ४४ ह जार ७ सय ५४ हेक्टर क्षेत्रफलमध्ये १४ हजार सात सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

गएको वर्ष १४ हजार तीन सय ३ दशमलव ७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३७ हजार एक सय ८३ दशमलव ३७ मेट्रिकटन उत्पादन भएको थियो । चार नगरपालिका र ६ वटा गाउँपालिका रहेको जिल्लाको सबै ठाउँमा धानखेती हुँदै आएको छ ।

जसमध्ये जिल्लाका माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्सेबुङ गाउँपालिकालाई धान खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ । जिल्लामा स्थानीय चुल्ठे, भँगेरे, हर्दिनाथ–१, राधा–१२, मनसुली, मकवानपुर–१, चिराँखे, बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी, ननिया, सावित्री जातका धानसमेत रोपिन थालिएको छ ।