मंगलबजारमा आगलागी


न्युज अफ नेपाल,ललितपुर ।

मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा बुधबार भूकम्प, आगलागी र सडक दुर्घटनामा आधारित कृत्रिम घटनाको अभ्यास गराइयो।

आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत फ्रेन्ड्स काउन्सिल नेपालले सो कार्यक्रम आयोजना गरेको हो । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको काउन्सिलका कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले बताउनुभयो ।

काउन्सिलले युरोपिएन युनियनको आर्थिक सहयोग युएनडिपी र ललितपुर महानगरपालिकाको सहकार्यमा सो अभ्यास गराइएको हो ।भूकम्पछि सडक र सञ्चार अवरुद्ध भएपछि मानिसहरुलाई कसरी उद्धार गर्ने, राहत सामग्री कसरी पु-याउने रु घाइतेको उपचार, मानिसको बेपत्ता, दाहसंस्कार स्थितिलाई परिकल्पना गरी राहत सामग्री वितरण, उद्धारको अभ्यास गराइएको थियो।

नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना , नगर प्रहरी, र जुद्ध बारुणयन्त्रले पनि विपद्को बेला त्यसको क्षतिको न्यूनीकरण, उद्धारको लागि आ आफ्नो क्षेत्रबाट गर्दै आएको कार्यको अभिनय देखाइएको थियो ।सहभागीहरुलाई यी विषयको प्रस्तुतीबाट विपद् जोखिमको बुझाई, प्रतिकार्य क्षमता अभिवृद्धिमा सघाउने विश्वास गरिएको सहायक अधिकृत ओझाले बताउनुभयो ।

सहायक अधिकृत ओझाका अनुसार १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत सो अभ्यासको आयोजना गरिएको हो।कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्भावित सन्निकट वा प्रकोपको पहिचान, क्षतिको लेखाजोखा र दु्रत प्रतिकार्यको लागि यस्ता अभ्यासले सधै सतर्क बनाउने धारणा राख्नुभयो । खोज तथा उद्धार सम्बन्धी क्षमता वृद्धि, समन्वयको भावनाको महत्व पनि यसले दर्शाउने मेयर महर्जनको विश्वास रहेको छ ।

महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले अभ्यासबाट विपद् जोखिमको पहिचान, मापन, आवधिक विश्लेषण र विपद्प्रतिको जनचेतना अभिवृद्धि गरी स्थानीयस्तरमा प्रतिकार्य कार्य अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।१९ वडाका वडाअध्यक्ष विनोद ताम्रकारले सो अभ्यास उपयोगी र महत्वपूर्ण रहेको बताउनुभयो । काठमाडौं उपत्यका भूकम्पीय जोखिम रहेको अवस्थामा विपद्ले निम्त्याउने आपतकालीन अवस्थाको व्यवस्थापनमा यस्ता अभ्यासले सघाउने पनि अध्यक्षको ताम्रकारको भनाई रहेको छ ।