लाइसेन्सका लागि एकैदिन नौ लाखले देखाए चासो, १४ लाख नयाँ स्मार्ट कार्ड आउँदै


मधुसूदन रायमाझी, काठमाडौं ।

यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् । सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो । विभागले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ ।

नयाँ व्यवस्थाअनुसार आवेदन प्रणाली खुला भएको र अब नियमितरूपमा फारम भर्न सकिने बताउनुभयो । उहाँले पहिले आवेदन दिएकालाई पहिलो प्राथमिकता दिएर नयाँ आवेदन दिएकाहरुको क्रमशः परीक्षा लिइने बताउनुभयो ।

प्रवक्ता भुसालका अनुसार नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा अब ४–४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५ सयवटा वस्तुगत प्रश्नको संग्रहसमेत सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिनेछ ।

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अकंभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । तर, पुराना ट्रायल दिन बाँकीहरूको भने पुरानै प्रणालीअनुसार दिनुपर्ने विभागले बताएको छ । विभागले गत साउनदेखि लागू हुने योजनासँगै सवारीचालक अनुमतिपत्रको परीक्षाका लागि नयाँ मापदण्ड व्यवस्था गरेको थियो । नयाँ प्रणालीअनुसार लाइसेन्स लिन चालकलाई सहज हुने बताइएको छ । आवेदन बुझाइसकेपछि दिइने लिखित परीक्षाको अवधि जम्मा ३० मिनेटको हुनेछ ।

जसको पूर्णाङ्क १०० हुनेछ । विभागका अनुसार लिखितमा पास भएको भोलिपल्ट अथवा तोकिएको मितिमा चालकले ट्रायलका लागि सम्बन्धित ट्रायल सेन्टर अथवा यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ । ट्रायल पास गरेसँगै सोही ठाउँबाटै चालकले परीक्षणकालीन लाइसेन्स प्राप्त गर्नेछ । जसको अवधि एक वर्षको हुनेछ । परीक्षणकालीन लाइसेन्सको अवधिभर यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स नपाउने प्रावधान लागू गरिएको छ । एक वर्षको परीक्षणकालीन लाइसेन्सपछि भने चालकले चार वर्ष अवधिको स्मार्ट लाइसेन्स प्राप्त गर्नेछ ।

प्रवक्ता डा. लोकनाथका अनुसार हाल देशभर झन्डै साढे ३ देखि ४ लाखले ट्रायल परीक्षा दिन बाँकी छ । विभागले अहिलेको हिसाबमा काठमाडौंबाट लाइसेन्स निकाल्न परीक्षा दिने आवेदकहरूको परीक्षा पालो अबको ३ देखि ४ महिनापछि आउने बताएको छ भने काठमाडौं बाहिरी जिल्लामा भने नयाँ आवेदकको लाइसेन्स लिने प्रक्रिया १५ दिनभित्रै शुरु हुने बताएको छ ।

स्मार्ट कार्डको अभावमा अहिले भने स्मार्ट लाइसेन्स छपाइको काम रोकिएको छ । प्रवक्ता भुसालका अनुसार यही महिनाको अन्तिमसम्म १४ लाख स्मार्ट कार्ड आइसक्नेछ । उहाँले हालसम्म ३० लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण भइसकेको बताउँदै बाँकी रहेको ६ लाख स्मार्ट लाइसेन्स पनि छिटोभन्दा छिटो वितरण गर्ने प्रक्रियामा अगाडि बढाइएको उल्लेख गर्नुभयो ।