मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्न निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं ।

निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अवरुद्ध भएपछि आलोचित बन्दै गएको प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले आगामी मंसिर महिनाभित्रै महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका तयार गरी अघि बढ्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी पदाधिकारीहरुले मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएर अघि बढ्न म्यान्डेट दिएको छ । अब निर्वाचन समितिले रोकिएको तल्लो तहको अधिवेशन सञ्चालन गर्न नयाँ कार्यतालिका बनाउने र सम्भव भएसम्म मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउनेछ ।’

मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने भनी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको १३ जिल्लामा अधिवेशन प्रक्रिया नै शुरु भएको छैन भने अधिवेशन शुरु भएको ६४ जिल्लामध्ये ४७ जिल्लामा मात्र पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म कांग्रेसको १३ जिल्ला र १४ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय पदाधिकारी र निर्वाचन समितिको मंगलबार बसेको बैठकले मंसिरमै महाधिवेशन सम्पन्न हुने गरी अघि बढ्न निर्देशन दिएपछि मंसिरको अन्तिम सम्ममा अधिवेशन गर्न सकिने सम्भावनाबारे निर्वाचन समितिले पुनः छलफल गरी नयाँ कार्यतालिका तय गर्ने भएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय निर्वाचन समितिका पाँच सदस्य उपस्थित रहेको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिनुभएको छ । प्रक्रिया शुरु नभएको १३ जिल्लाको हकमा पदाधिकारीहरुले छठ पर्वपछि प्रक्रिया शुरु गर्दा उपयुक्त हुने सुझाव दिएको संयोजक यादवको भनाइ थियो ।

 

अधिवेशन प्रक्रिया शुरु हुन बाँकी १३ जिल्लामध्ये रसुवा र रौतहट दुई जिल्लाको क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई अझै प्राप्त भएको छैन । संयोजक यादवले बैठकमा क्रियाशील सदस्यको सूची छिट्टै निर्वाचन समितिलाई उपलब्ध गराइने बताएको जानकारी दिनुभएको छ ।

अधिवेशन प्रक्रिया शुरु नभएको जिल्लामा तिहारअघि वडा अधिवेशन र छठपछि पालिका अधिवेशन गर्ने निर्वाचन समितिको प्रस्तावमा पदाधिकारीहरुले छठपछि मात्र अधिवेशन प्रक्रिया अघि बढाउन सुझाव दिएकोले त्यसैअनुसार कार्यतालिका बनाउने निर्वाचन समितिले जनाएको छ । पदाधिकारी सहितको बैठकमा जसरी भए पनि मंसिर भित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन निर्देशन आएकाले सम्भव भएसम्म सोहीअनुसार कार्यतालिका तयार गरिने निर्वाचन समितिका संयोजक यादव बताउनुहुन्छ ।