मुलुकको हितका लागि जसपाको उदय : नेता यादव

0
Shares

लहान ।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले मुलुकको हितका लागि आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदय भएको बताउनुभएको छ । सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादवले ठूला दलहरुले मुलुकको हितमा काम गर्न नसकेकाले आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गर्नुभयो । जनताले पटक पटक मत दिए पनि पुराना दल सत्ता स्वार्थमा मात्र रमाएको आरोप लगाउँदै यादवले मुलुकको हित र जनअपेक्षाअनुरुप आफ्नो पार्टीले मात्र काम गर्नसक्ने बताउनुभयो ।

जसपाको जन्म नै देशलाई विकल्प दिनका लागि भएको उल्लेख गर्दै नेता यादवले जनताले जसपालाई साथ दिनुपर्ने बताउनुभयो । देशको समृद्धि र सुशासनको सपना, सबै समुदाय एवं वर्गको अधिकार र पहिचान तथा वास्तविक समाजवादको सपना आफ्नो दलले मात्र पूरा गर्नसक्ने उहाँको भनाइ थियो ।

वडाअध्यक्षसहित ६ जना पक्राउ

प्रतिबन्धित लागुऔषधका साथ सिरहा प्रहरीले वडाअध्यक्षसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित सिरहा नगरपालिका–१८ का वडाध्यक्ष रामसोगारथ यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका वडाध्यक्ष यादवको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । वडाध्यक्ष यादव स१ब ९३८ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट फर्किदै गर्दा माडर चोकमा जाँचका क्रममा लागुऔषधसहित पक्राउ परेको बुढाथोकीले बताउनुभयो । पक्राउ परेका वडाध्यक्ष यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले सिरहा नगरपालिका–१८ इटारीबाट लागुऔषधसहित अर्नमा गाउँपालिका–३ का २३ वर्षीय पप्पु दासलाई पक्राउ गरेको छ । दासको साथबाट १०० थान डाइजिपाम र १०० थान नोर्फिन इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित मिर्चैया नगरपालिका–६ का २३ वर्षीय राजाराम पासवान र मिर्चैया नगरपालिका–४ का ४० वर्षीय विनोद साहलाई पक्राउ गरेको छ ।

यस्तै नवराजपुर गाउँपालिका–५ मेनहाबाट लागुऔषधसहित लहान नगरपालिका–२० का २१ वर्षीय लक्ष्मी चौधरी र लहान नगरपालिका–१ का २० वर्षीय प्रविण साहलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध डाइलेक्ड डिसी १०० एमएलको १० बोतल, नाइट्रोभेट १५० ट्याबलेसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।