नवलपुर बन्यो नयाँ सबस्टेसन, विद्युत् आपूर्ति भरपर्दो हुने

1.88k
Shares

काठमाडौं (नेस) ।

सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताउनुभयो ।

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

‘अब नवलपुर सबस्टेसनबाट सीधै विद्युत् आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त विद्युत् दिन सकिने छ ।’

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरूमा विद्युत् आपूर्ति दिइने छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा शुरू गरिएको थियो । कोभिड–१९को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताउनुभयो ।

सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।