लयमा फर्कन थाल्यो सेयर बजार



काठमाडौं (नेस) ।

केही समयदेखि उतारचढावमा रहेको सेयर बजार साताको पहिलो हप्ताबाट आफ्नो लयमा फर्कन शुरू गरेको छ । आइतबार पनि दोहोरो अंकले बढेको शेयर बजार सोमबार भने उच्च अंकको वृद्धि भएको छ । बजार खुलेदेखि नै उकालो लागेको बजार ८७ दशमलव ६३ अंकले बढेर बन्द हुन पुगेको छ ।

सोमबार सबै समूहको परिसूचकसमेत बढेको छ । पछिल्लोपटक बजार घट्दा वा बढ्दा लगानीकर्ताहरूले जलविद्युत्, विकास बैंक र माइक्रोफाइनान्स समूहका कम्पनीमा लगानी गर्दै आएका छन् । अघिल्ला दिनहरूमा उच्च अंकले घटेको तीन वटै समूहका परिसूचक सोमबार उच्च अंकले बढेको छ ।

सोमबार बजारमा सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ७ दशमलव ८१ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक पनि ७ दशमलव ५७ अंकले बढेको छ । यसैगरी, बजारमा विकास बैंक समूह ६ प्रतिशतभन्दा बढीले बढेको छ । तर, विन्दुगत रूपमा हेर्दा जीवन बीमा समूहको परिसूचक ५३८ अंकले उकालो लागेको छ ।

लामो समयदेखि खुम्चिएको कारोबार रकम सोमबार भने केही उकालो लागेको छ । सोमबार ४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्