म स्वाभाविक उम्मेदवार हुँ : पौडेल


बाँके, (नेस) ।

सरकार गठबन्धनमा रहेका पार्टीबीच आगामी चुनाव ‘मिलेर’ प्रतिस्पर्धा गर्ने केही नेताले बताइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले आफू आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । ‘सत्ता गठबन्धन पार्टीका बीचमा चुनावी मोर्चा बनाएर जाने कुराहरु सुनिन्छ । म यसको पक्षमा छैन । कांग्रेसका बहुसंख्यक नेता र कार्यकर्ता पनि यस्तो पक्षमा छैनन्’, वरिष्ठ नेता पौडेलले भन्नुभयो– गठबन्धनको सरकार भए पनि चुनावमा कांग्रेस कम्युनिस्टसँग मिलेर जानुपर्छ भन्ने पक्षमा छैनौं ।’

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पश्चिम नेपालको भ्रमणमा निस्किनुभएका नेता पौडेलले १४औं महाधिवेशनमा आफू स्वाभाविक रूपमा पार्टीको सभापतिको उम्मेदवार रहेको दोहो¥याउनुभयो । उहाँले आफ्नो टिमबाट साझा उम्मेदवार हुने बताउनुभयो । ‘हाम्रो टिमबाट एक जना सभापतिको उम्मेदवार हुन्छ । यसअघि पनि म उम्मेदवार रहिसकेकाले म स्वाभाविक उम्मेदवार हुँ’, पौडेलले भन्नुभयो– ‘अरू साथीहरुले पनि इच्छा देखाउनुभएको छ । अन्तिममा एक जना उम्मेदवार बनाएर अघि बढ्छौं ।’

वरिष्ठ नेता पौडेलले अहिले कांग्रेसको वैधानिकता माथि नै प्रश्न उठ्न थालेकाले फास्ट ट्रयाकबाट जसरी पनि निर्धारित समयमै महाधिवेशन गराउनुपर्ने बताउनुभयो । उहाँले नेपालगन्जबाट फर्किएलगत्तै सभापति शेरबहादुर देउवालाई भेटेर मंसिरभित्रै महाधिवेशन गर्न सुझाव दिने बताउनुभयो ।

वरिष्ठ नेताले बाँकेका कांग्रेस नेता तथा कार्यकर्तासँग पनि भेटघाट गर्नुभएको छ । नेपालगन्ज पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह शहर भएकाले यहाँ कोइराला पक्ष हावी रहेको छ ।