शक्ति केन्द्रले माओवादीलाई जस दिन कन्जुस्याइँ गरेको प्रचण्डको गुनासो

378
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे शान्ति सम्झौताको हस्ताक्षरकर्ताको रुपमा आफूले सम्झौताको पूर्ण पालना गरेको तर स्वदेशी तथा विदेशी शक्ति केन्द्रहरूले त्यसको जस आफूलाई नदिएको भन्दै गुनासो गर्नुभएको छ ।

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेको पुस्तक काठमाडौं डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइजमाथि छलफल गर्न सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो गुनासो गर्नुभएको हो ।

उहाँले भन्नुभयो–‘मैले आफ्नो बेफाइदा सहेरै पनि शान्ति सम्झौताको पालना पूर्ण रुपमा गरेको छु । तर स्वदेशी तथा विदेशी शक्ति केन्द्रहरूले जति जस दिनुपर्ने हो, त्यो दिन कन्जुस्याइँ गरेको छ । त्यो कन्जुस्याइँ राम्रो होइन भन्ने मेरो ठम्याइ छ । ’ उहाँले शान्ति सम्झौतालाई गर्वका साथ स्थापित गर्न सबैले भूमिका निभाएमा मात्र दिगो विकासको राम्रो आधार बन्ने दाबी गर्नुभयो ।

पूर्व भारतीय राजदूत रेको पुस्तकको चर्चा गर्दै प्रचण्डले सम्झौता भएकै दिनदेखि माओवादीलाई राजनीतिक मूलधारमा ल्याइएको चर्चा सुरु भएको जिकिर गर्दै प्रश्न गर्नुभयो–‘माओवादीलाई राजनीतिक मूलधारमा ल्याइएको हो कि माओवादीले चाहिँ गणतन्त्र, समावेशी र नेपाली राजनीतिक रूपान्तरण सहितको नयाँ राजनीतिक मूलधार सिर्जना गरेको हो, त्यसमा छलफल हुनु जरुरी छ र यो पुस्तकले केही हदसम्म त्यसमा प्रकाश पारेको छ ।’

उहाँले पुस्तकले माओवादी भारतले नै उत्पादन गरेको, उनीहरूलाई तालिम तथा हतियार पनि भारतले नै उपलब्ध गराइएको भन्ने भ्रमलाई चिर्न पुस्तक सफल भएको टिप्पणी पनि गर्नुभयो । उहाँले शान्ति सम्झौताको अन्तिम क्षणसम्म पनि भारतमा माओवादीप्रति नकारात्मक धारणा व्याप्त रहेको बताउँदै भन्नुभयो–‘हामीलाई भारत सरकारले सहयोग गरेको छैन । हामी त भारतमा रहेका नेपाली मजदुरसँगै बसेका थियौँ ।

भारत सरकारले त हाम्रा साथीहरू पक्राउ गरेर नेपाल सरकारलाई सुम्पिने सम्मको काम गरेर हामीलाई खेदेको थियो ।’ रेले पुस्तकमा भारतमा अन्तिम समयसम्म पनि नेपालको माओवादीलाई दबाएर समाप्त पार्नुपर्छ भन्ने र उनीहरूलाई शान्तिपूर्ण अवतरण गराउनुपर्छ भन्ने दुई धार रहेको उल्लेख छ ।

कार्यक्रममा प्रचण्डले पुस्तकमा पूर्व भारतीय राजदूत रेले सत्य तथ्य नबुझीकनै भारतविरुद्ध प्रतिक्रिया जनाइहाल्ने नेपाली मनोविज्ञानको बारेमा उल्लेख गरेको जिकिर गर्दै भन्नुभयो–‘नेपालीको त्यस्तो मनोविज्ञान बन्नुमा इतिहासदेखि वर्तमानसम्म भारतको भूमिको के रह्यो भन्ने विश्लेषण पनि पुस्तकमा समेटिनुपर्छ ।

त्यस्तै धेरै लामो समयसम्म अङ्ग्रेजको अधीनमा रहेर भारतीयको मनोविज्ञान कस्तो बनेको छ भन्ने पनि विश्लेषण गरेर मात्र नेपाल–भारत सम्बन्धलाई अघि बढाउन सजिलो हुन्छ ।’ कार्यक्रममा पूर्व भारतीय राजदूत रञ्जित रेले नेपालले भारतबाट के चाहन्छ र भारतले नेपालबाट के चाहन्छ भन्ने विषयमा प्रस्ट हुनुपर्नेमा जोड दिनुभएको थियो ।