मिस युनिभर्सका लागि भिड्दै १६ सुन्दरी

462
Shares

मिस युनिभर्स नेपाल २०२१ मा १६ युवती भिड्ने भएका छन्। आयोजक उमंग क्रियसनले हालै राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिमा ग्रान्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी युवतीहरूलाई सार्वजनिक गरेको हो।

कार्यक्रममा १६ प्रतियोगी युवतीले रेड कार्पेटमा र्‍याम्प वाक गर्दै दर्शकमाझ आफ्नो परिचय र भविष्यको उद्देश्यबारे प्रस्तुति राखेका थिए। कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकाको शिक्षालगायत विभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको २ देखि ३ मिनेट अवधिको भिडियोसमेत प्रस्तुत गरिएको थियो।

प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिनेछन्। छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आईएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ। सोही एपबाट मिस युनिभर्स नेपाल २०२१ को पिपुल्स च्वाइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्रान्ड फिनालेको भीआईपी टिकटसमेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी गराएका छन्। प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शनिबार आयोजना हुनेछ। प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस युनिभर्सका लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो। गत वर्ष मिस युनिर्भसमा मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले नेपालको प्रतिनिधित्व गरेकी थिइन्।