कोरोना खोपको ट्रायल सफलतातर्फ


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा भइरहेको कोरोना खोपको क्लिनिकल ट्रायल सफलतातर्फ उन्मुख भएको छ । पछिल्लो समय सरकारले तीन अस्पताला बीपी कोइराला स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोरोना खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको थियो ।

कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला यसको खोप उत्पादनमा नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको हो । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा चिनियाँ खोप ट्रायल गर्न अनुमति दिएको थियो भने धुलिखेल र नेपालगन्जमा अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) को मातहतमा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न अनुमति दिएको थियो ।

अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) को मातहतमा नेपालमा कोरोना भ्याक्सिनको क्लिनकल ट्रायल गरिरहेका मुख्य अनुसन्धानकर्ता डा. राजीव श्रेष्ठ भन्नुहुन्छ– ‘धुलिखेल अस्पतालमा अहिलेसम्म करिब तीन सय जनामा परीक्षण गर्दा नतिजा सकारात्मक आएको छ ।’

उहाँका अनुसार नेपालगन्जमा पनि करिब २ सय जनामा परिक्षण भइरहेको छ । डा. श्रेष्ठका अनुसार यो खोपकोे क्लिनिकल ट्रायलमा आएको नतिजाअनुसार अब एक महिनाभित्रमा खोपको विकास हुनेछ ।

धुलिखेल र नेपालगञ्जमा भइरहेको क्लिनिकल ट्रायलका क्रममा नयाँ कुरा पनि पत्ता लागेको छ । प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठका अनुसार ट्रायलमा आउनेको एन्टिबडी परीक्षण गर्दा २५ देखि ३० प्रतिशत पहिले नै कोरोनासँग पूर्वसम्पर्कमा आइसकेको देखिएको छ । यसको साधारण अर्थ नेपालमा २५ देखि ३० प्रतिशतलाई कोरोना लागेर निको भइसकेको बुझिन्छ ।

क्लिनिकल ट्रायलका लागि भने खोप पनि नलगाएको कोरोना पनि नलागेको तथा एन्टिबडी पनि नदेखिएको चाहिन्छ । सानोफी र जीएसके कम्पनीले विकास गर्न खोजेको यो भ्याक्सिन करिब ४ हजार जनामा परीक्षण गर्ने तयारी थियो ।

अहिले नेपालमा गर्न खोजिएको यो ट्रायल अमेरिका, जापान, श्रीलंका र भारतलगायतका देशको २१ साइडमा ट्रायल भइरहेको नेपालका प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठले जानकारी दिनुभएको छ । यो ट्रायल सफल भए नेपाललाई ५ लाख डोज खोप निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

प्रमुख अनुसन्धानकर्ता डा. श्रेष्ठले जानकारी दिएअनुसार यो ट्रायलपश्चात् नेपाललाई मोर्लिकुलर ल्याब बनाउन र त्यो ल्याब चलाउन दक्ष जनशक्ति तयार पार्ने कुरामा पनि कोरोना खोप ट्रायलका मुख्य प्रायोजक सानोफी र जीएसके कम्पनीले सहयोग गर्ने भनेका छन् ।

नेपालमा भइरहेको ट्रायल तेस्रो चरणको हो । भारतमा यो चरणको ट्रायल हुँदै थियो । भारत सरकारले पहिलो चरणको रिपोर्टको राम्रोसँग अध्ययन नगरी ट्रायल नगर्ने भनी रोकिदिएको छ । भारतले दोस्रो चरणको ट्रायल गर्न नदिएपछि त्यो ट्रायल नेपालमै गर्ने प्रयास भइरहेको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान धरानमा ट्रायल गर्न अनुमति पाएको चाइनिज भ्याक्सिनको सफल परीक्षण भएमा नेपाललाई ५ लाख डोज खोप निःशुल्क उपलब्ध गराउनुका साथै देउराली फर्मास्यिुटिकल्स प्रालिसँगको सहकार्यमा नेपालमै भ्याक्सिन उत्पादन गर्ने सहमति भएको थियो ।

सानोफी पास्चरले नेपालमा परीक्षण गर्न लागेको कोरोना भ्याक्सिनको सफल नतिजा आएमा कोभ्याक्स सुविधाअन्तर्गत निःशुल्क र सस्तो मूल्यमा अरु खोपको उपलब्धता बढाउन पनि मद्दत पुग्ने बताइएको छ । धुलिखेल अस्पतालमा ट्रायल गर्न लागिएको कोरोना भ्याक्सिनको धुलिखेल साइडका प्रमुख अनुसन्धानकर्ता डा. दीपेश ताम्राकार हुन् भने नेपालगन्ज मेडिकल कलेजतर्फका मुख्य अनुसन्धानकर्ता डा. पीयूष कनौरिया हुन् ।

कोरोनाको नयाँनयाँ भेरियन्ट आइरहेको सन्दर्भमा धुलिखेलमा पनि अनुसन्धान भइरहेको छ । सबै लक्षण कोरोनासँग मिल्ने तर पीसीआर टेस्ट गर्दा नेगेटिभ आउने देखिएको भन्दै यसबारेमा अनुसन्धान भइरहेको भन्दै धुलिखेल अस्पतालले यसबारेमा करिब दुई हप्तापछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।