महाधिवेशन अभियानमा एमाले, ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले एकै दिन शनिबार देशभरका ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमालेले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन एकसाथ गर्ने घोषणा गरे पनि बाढी–पहिरो र डुबान प्रभावित जिल्लाका वडामा भने तत्कालका लागि वडा अधिवेशन स्थगित गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बाढी–पहिरो प्रभावित जिल्लाका वडा अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरिकै वडा अधिवेशन एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । सचिव तामाङले देशभर भएका वडा अधिवेशनले सबै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको बताउनुभएको छ । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच सदस्यीय पदाधिकारीसहित वडा कमिटी चयन गरेको छ । गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।

पाँच दलीय गठबन्धन प्रतिगामी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाउनुभएको छ । उहाँले साढे तीन महिनामा सरकारको स्वेच्छाचारिता बढेको र प्रतिगामनको बाटोमा लागेको टिप्पणी गर्नुभयो । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न र कम्युनिस्ट सरकार ढाल्ने र प्रतिक्रियावादीको पाउमा सेवा गर्न पाँच दल अग्रसर भएको आरोप लगाउनुभयो ।

प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिँदै उहाँले प्रतिगमनविरुद्ध कार्यकर्तालाई डटेर सामना गर्न पनि निर्देशन दिनुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढिरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा हरेक तहमा सानदार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गर्दै ‘एमाले समाप्त हुन्छ’ भन्ने भ्रम मात्र रहेको बताउनुभयो । फरक प्रसंगमा ओलीले कांग्रेसले १४औं महाधिवेशन गर्न असफल भएको टिप्पणी गर्दै आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको भन्दै कटाक्ष गर्नुभयो ।

फरक प्रसंगमा अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताउनुभयो । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘संयोजन मैले गर्न सकिनँ त्यस कारण मेरो राजीनामा भन्नुभयो, त्यत्रो ठूलो कुरो पनि होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’ १० बुँदे कार्यान्वयनमा ओली प्रतिबद्ध नदेखिएको भन्दै त्यसलाई कार्यान्वयन गर्न सहजीकरणका लागि बनाइएको कार्यदलबाट रावलले शुक्रबार राजीनामा दिनुभएको थियो ।