बझाङमा बाढीपहिरो : ९ को मृत्यु, २१ अझै बेपत्ता (तस्वीरसहित)


ललित सिंह, बझाङ ।

कार्तिकमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१ जना अझै बेपत्ता छन । वेपता ब्यक्तिहरुलाइ जिवितै फेला पार्ने सम्भावना निकै कम रहेको कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

मंगलबार बिहान थलारा गाउँपालिका वडा नं ४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भए । दुई दिन देखि हराइरहेका उनीहरूमध्ये दुई जनाको शव भेटिएको छ । अहिले बझाङको मौसम सुधार हुँदै गएकाले खोजिकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायीरुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा रहेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए । विद्यालयमा बसिरहेका विस्थापितहरूमध्ये बालबालिका र वृद्धावृद्धलाई बढी समस्या भएको छ । यस्तै खप्तडछान्ना गाँउपालिकामा बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । घरभन्दा माथिको डाँडाबाट पहिरो खसेर घर पुरिँदा मृत्यु भएको हो । नेटवर्कले जिल्लाको सबै ठाउँमा काम नगर्दा अझै बिस्तृत जानकारी आउन बाँकी छ ।