विपत्मा राजनीतिक दलको सहयोग खोज्दै देउवा


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंँग भेट गरी आइतबारदेखि परेको मेमौसमी वर्षाको कारण सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लाहरूमा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार, खेतीबालीको क्षति तथा बडादसैंको अवधिमा भएका सवारी दुर्घटनाहरूका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।

क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गर्नुभएको डा. महतले जानकारी दिनुभएको छ– ‘विपद्को समयमा पीडितहरूको उद्धार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरू पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको प्रधानमन्त्रीको ठहर छ ।

उहाँले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा वर्षाले पुर्‍याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गर्नुभएको छ । यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाइले पूर्ण सहयोग गर्नुपर्ने अवस्था उहाँले औंल्याउनुभएको छ ।

सह–महामन्त्री डा. महतले उद्धार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा सिंगो नेपाली कांग्रेस पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरू सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भेटका अवसरमा सह–महामन्त्री डा. महतले प्रधानमन्त्री देउवालाई केही समययता भएका सवारी दुर्घटनाका बारेमा पनि जानकारी गराउनुभएको थियो । तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मकरूपमा लिनुभएको डा.महतले बताउनुभएको छ ।

यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गरी केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानको कारणले देशका विभिन्न जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको तथा जनजिवन अस्तव्यस्त भएको जिकिर गर्दै उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा खटिन आफ्ना भातृ एवं शुभेच्छुक संघ संगठनहरूलाई आग्रह गर्नुभएको छ ।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।