विपद् न्यूनीकरण गर्ने सामग्रीको समस्या छैन : कामपा



ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले देशभर बेमौसमी वर्षाले बितन्डा मच्चाइरहेको र त्यसको असर राजधानी र आसपासको क्षेत्रमा पनि पर्न सक्ने भन्दै राजधानीमा बाढी–पहिरोलगायत विपद्जन्य अवस्थाबाट जनधनको क्षति रोक्न पूर्ण तयारी गरिएको जनाएको छ ।

कामपा विपद् व्यवस्थापन विभागले त्यसका लागि करिब ५० लाख रुपियाँ बराबरको सामग्री खरिद गरिसकेको जनाएको छ । कामपा विपद् व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरसँग हाल करिब ४८ किसिमका सामग्रीको भण्डारण छ । बाँकी सामान केही महिनापछि ल्याउने तयारी भइरहेको छ ।

कामपाले यही साउनमा ट्युब, स्ट्रेचर, भर्‍याङ, टर्चलाइट, टोप, रुख काट्ने कटर, डोरी, त्रिपाल, पिग, साबेल, बाल्टीलगायतका सामग्री खरिद गरी भण्डारण गरेको थियो । विभागले केही महिनापछि ५ वटा पम्प खरिद गर्ने तयारी गरेको छ । यसअघि दमकल कार्यालयले विपद् आउँदा नियन्त्रण गर्न प्रयोग हुने सवारीसाधन खरिद गरिसकेको छ । विभागीय प्रमुख श्रेष्ठका अनुसार राजधानीमा मात्र उपत्यका र राजधानीसंग जोडिएका जिल्लामा विपद्जन्य घटना भएमा त्यसलाई नियन्त्रण गर्न सक्ने गरी सामग्री खरिद गरी भण्डारण गरिएको छ ।

दुई दिनअघि सुदुरपश्चिम, कर्णाली, प्रदेश १ र २, गण्डकी लगायतका प्रदेशमा आएको बैमौसमी बाढी–पहिरोले ४८ जनाको मुत्यु हुनुका साथै अर्बौं रुपियाँको क्षति भएको थियो । उपत्यका भित्रको वागमती, विष्णुमती, धोबिखोला, टुकुचालगायत भित्री शहरबाट बग्ने नदीका कारण विपद् आउन सक्ने आँकलन गर्दै कामपाले विपद् न्यूनीकरण सामग्री तयारी अवस्थामा राखेको हो । महानगरले विपद् आइपरे वडाको संयोजनमा महानगर प्रहरी र स्थानीय स्वयंसेवक परिचालन गरी उद्धार गर्ने तयारी समेत गरेको छ ।

सामग्रीको अभावमा विपद्को समयमा उद्धार गर्न कठिन परिरहेको अवस्थामा कामपाले केही सामग्री खरिद गरी भण्डारण गरेको हो । कामपाले यस्ता अन्य सामग्री पुनः खरिद गर्ने तयारी समेत गरिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम विशेष बुलेटिनमा वागमती प्रदेश र राजधानीमा समेत अविरल वर्षा हुन सक्ने अनुमान गरेको छ । नदी उकास क्षेत्रमा ठूल्ठूला भवन बनेपछि ती क्षेत्रमा अविरल वर्षा भए बाढी आउन सक्ने सम्भावना रहेको छ ।
करिब दुई महिनाअघि उपत्यकामा परेको अविरल वर्षाका कारण विष्णुमती र धोबीखोला करिडोर क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्