विराटनगर जलमग्न, विमानस्थल अवरुद्ध

बाढीले प्रदेश–१ मा २२ को मृत्यु


हरिहर नेपाल, विराटनगर ।

निरन्तरको वर्षासँगै आएको बाढीका कारण प्रदेश–१ को राजधानी विराटनगर जलमग्न भएको छ । वर्षाका कारण विराटनगर महानगरपालिकाका १९ वटै वडा जलमग्न छ । केसलिया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम–दक्षिण क्षेत्र बढी डुबानमा परेका हुन् ।

मंगलबार रातीदेखि परेको अविरल वर्षाले विराटनगर विमानस्थल पनि अवरुद्ध भएको छ । केसलिया र बास्ता खोलाको पानी पसेर विमानस्थल छिर्ने गेटदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर सबैतिर कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था नभएको विमानस्थलले जनाएको छ । विमानस्थल जलमग्न भएका कारण बुद्ध र यति एयरलाइन्सले काठमाडौं–विराटनगरका लागि मंगलबार निर्धारित सबै उडान रद्द गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १ सय ३३ दशमलव ६ मिलिमिटरसम्म वर्षा भएको थियो ।

विराटनगरसँगै मोरङका कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोलाकिनारका बस्तीमा बाढी पसेको छ । उता अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् । सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको र २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

यस्तै, जिल्ला सदरमुकाम फिदिमसँग विभिन्न गाउँपालिका जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । धनकुटामा पनि वर्षाले निकै क्षति पुर्‍याएको छ । धनकुटाको चौबीसे गाउँपालिका–१ गडेरेमा मंगलबार पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सडकसमेत क्षतिग्रस्त भएर यातायात बन्द हुँदा घाइतेलाई उपचारका लागि अन्यत्र लैजान कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जना गरी प्रदेश–१ मा मात्रै २२ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ । धनकुटाको चौबीसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मंगलबार राति पहिरोले भीमबहादुर श्रेष्ठको घर पुर्दा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही दिनयताको भारी वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च भएको हो । बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएको छ । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ । नदीतटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन भनिएको छ । सुनसरी प्रशासनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको हो ।

नेपालमा असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । मौसमविद्हरूका अनुसार अहिलेको वर्षा अत्यधिक खतरनाक भएको भन्दै जलवायु परिवर्तनको असरका कारण बेमौसमी वर्षा भएको हो ।

नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिनयता जारी रहेको बेमौसमी वर्षा नेपालको पश्चिमी क्षेत्र तहसनहस गर्दै पूर्वतर्फ सरेको छ । अविरलको वर्षाले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्‍याएको छ । वर्षाको मौसममा समेत पानीबाट नडुबेका क्षेत्रहरू अहिले जलमग्न भएको छ ।